हेटौँडा : हेटौँडा-२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले कक्षा ११ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८२/८३ मा कक्षा ११ नियमिततर्फ अध्ययनरत सम्पूर्ण समूहका विद्यार्थीहरुका लागि क्याम्पसले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा आगामी जेठ ११ गतेदेखि सुरु भई जेठ २२ गते सम्पन्न हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । मकवानपुर जिल्लाकै अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा हाल शिक्षाशास्त्र संकाय, मानविकी संकाय र व्यवस्थापन संकाय र विज्ञान संकायको पठनपाठन हुँदै आएको छ । कक्षा ११ मा हाल १ हजार ४ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पसका सहायक क्याम्पस प्रमुख संगम चौलागाईले जानकारी दिनुभयो ।
क्याम्पसमा अहिले कक्षा ११ को प्रयोगात्मक परीक्षा चलिरहेको छ । सहायक क्याम्पस प्रमुख चौलागाईंका अनुसार प्रयोगात्मक परीक्षा अर्को हप्तासम्म सञ्चालन हुने र त्यसपछि विद्यार्थीहरुलाई वार्षिक परीक्षा तयारीका लागि विदा दिइनेछ । परीक्षा सकिएपछि जेठ महिनाभित्रै वा असारको पहिलो हप्तामै नतिजा प्रकाशन गर्ने तयारी रहेको उहाँको भनाइ छ । असार १५ गतेदेखि कक्षा १२ को नयाँ कक्षा सुरु हुनेछ ।












