हेटौँडाः हेटौँडा अस्पतालले चैत महिनामा ३१ हजारभन्दा बढी बिरामीलाई सेवा दिएकोे छ । चैत महिनामा बहिरंग (ओपीडी) मार्फत ३१ हजार ४ सय ६ जना बिरामीले स्वास्थ्य सेवा लिएका हुन् ।
हेटौँडा अस्पतालबाट स्वास्थ्य सेवा लिने अधिकांशले स्वास्थ्य बिमा सुविधाबाट सेवा लिएका छन् । चैत महिनामा ओपीडी सेवा लिएका २९ हजार १ सय ८३ जनाले स्वास्थ्य बिमामार्फत सेवा प्राप्त गरेको हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका प्रवक्ता उत्सवराज चौलागाईंले जानकारी दिनुभयो ।
अस्पतालले चैत महिनामा १ हजार १ सय १८ जना बिरामीलाई अन्तरंग (भर्ना तथा वार्ड) सेवा प्रदान गरेको छ । यस्तै, ५ हजार १ सय ४३ जनाले एमर्जेन्सी सेवा लिएका छन् । अस्पतालको ल्याब सेवा ९ हजार ७ सय १७ नाले प्राप्त गर्दा एक्सरे सेवा ६ हजार ८ सय ७३ जनाले प्राप्त गरेको अस्पतालले जनाएको छ । भिडियो एक्सरे सेवा ३ हजार ७ सय ५५ जनाले प्राप्त गरेका छन् । यस्तै, अस्पतालमा एमआरआई सेवा १ सय ७२ जनाले प्राप्त गरेका छन् ।
अस्पतालमा हाल १ सय ५ जनाले हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको समेत प्रवक्ता चौलागाईंले जानकारी दिनुभयो । चैत महिनामा अस्पतालको आईसीयुमा १ सय १५ जना भर्ना भई सेवा प्राप्त गरेका थिए । यस अवधिमा अस्पतालमा जटिल शल्यक्रिया १ सय २६ बिरामीको र सामान्य शल्यक्रिया सेवा १ सय २३ जनाले प्राप्त गरेका थिए ।
यस्तै, अस्पतालबाट एक महिनामा १ सय ३६ जना महिलाहरुले सामान्य प्रसुति र ६१ जनाले शल्यक्रियामार्फत प्रसुति सेवा प्राप्त गरेको चौलागाईंले बताउनुभयो । अस्पतालले यस अवधिमा २७ जनालाई सुरक्षित गर्भपतन सेवा उपलब्ध गराएको छ भने अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत ३० जना पीडितले उपचार सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ ।










