हेटौंडाः मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको ४९ वटा स्वाब नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ । नगरपालिकाका सङ्क्रमितको सम्पर्कमा आएका र लक्ष्ण देखिएकाहरु ४९ जनाको स्वाब सङ्कलन गरिएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनुभयो ।
नगरपालिकाले बुधबार स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाएको हो । स्वाब नमुनाको रिपार्ट भोलि या पर्सी आउने बलामीले बताउनुभयो । थाहा नगरमा हालसम्म १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मा १३ जना उपचार भएर घर फर्किसकेका छन् । सङ्क्रमीत २ जना भने हेटौंडाको गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन् । आज स्वाब सङ्कलन गरेर पठाइएको ४९ जना मध्ये १ जना थाहा नगरपालिका ६ मा स्थित अध्याय रिसोर्ट क्वारेन्टिनमा रहेका छन् भने अन्य ४८ जना सबै होम क्वारेन्टिनमा रहेका छन् ।
थाहा नगरपालिकामा २० वेडको आइसोलेसन वार्ड निर्माण अन्तिम चरणमा पुगेको छ । हाल क्वारेन्टिन रहेको वडा नम्बर ६ को अध्याय रिसोर्टलाई नै आइसोलेसन बनाउने योजना अनुसार कार्य भइरहेको स्वास्थ्य प्रमुख मेघराज बलामीले बताउनुभयो । अध्यायको क्वारेन्टिनलाई भने वडा नम्बर ६ कै सामुदायिक भवनमा सारिने उहाँले जानकारी दिनुभयो ।