हेटौंडाः आज मकवानपुरको भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा ४६ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ । गाउँपालिकामा स्वाब सङ्कलन गरेर कोरोना परिक्षणका लागि हेटौंडा—१० स्थित प्रादेशिक प्रयोगशालामा पठाइएको गाउँपालिकाका स्वास्थ्य प्रमुखहरुले जानकारी दिएका छन् ।
भीमफेदी गाउँपालिकामा २४ जनाको स्वाब सङ्कलन गरिएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी कोरोना परिक्षणको लागि २४ जनाको स्वाब नमुना सङ्कलन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनाम थिङले जानकारी दिनुभयो ।
भीमफेदी गाउँपालिका वडा नम्बर ५ का २३ जनाको र ६ का १ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएको थिङले बताउनुभयो । भीमफेदीमा हालसम्म १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । भीमफेदी गाउँपालिकाका ४ जना सक्रिय सङ्क्रमितको हेटौंडा–६, गौरिटारस्थित आइसोलसन वार्डमा उपचार भइरहेको छ ।
त्यस्तै आज मनहरी गाउँपालिकाबाट २२ जनाको स्वाब सङ्कलन गरेर हेटौंडा—१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ । मनहरीबाट २० जना नयाँ व्यक्तिको स्वाब पठाइएको २ जना कोरोना सङ्क्रमितको भने पुनः परीक्षणका लागि पठाइएको हो । ति २ जना सङ्क्रमित मनहरी—८ सिमपानीस्थित आइसोलेसनमा उपचाररत रहेका छन् । मनहरीमा २२ जना संक्रमित कोरोनामुक्त भैसकेका छन् ।