लावती (राक्सिराङ्ग) : श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले राक्सिराङ्ग गाउँपालिकाका–३, लावतीको अग्निपीडित विपन्न निशामाया चेपाङ्गको परिवारलाई नयाँ घर बनाई दिएको छ । गत चैत ४ गते निशामायाको घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । शुक्रबार श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिङ्तानसहितको टोली राक्सिराङ पुगेर निशामाया चेपाङलाई घर हस्तान्तरण गरेका हुन् । श्रम संस्कृति पार्टीका प्रतिनिधिले घर जलेर नष्ट भएको एक महिनामै आर्थिक सहयोग संकलन गरेर र श्रमदानबाट घर निर्माण कार्य सम्पन्न गरेर चेपाङ्गको परिवारलाई हस्तान्तरण गरेको हो ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यमा घरको चाबी हस्तान्तरण गरिएको हो । चेपाङको घर जलेर साढे ६ लाख बराबरको क्षति भएको थियो । पार्टीका कार्यकताको श्रमदान र विभिन्न व्यक्तित्व तथा कम्पनीको सहयोगबाट २ लाख ५ हजार रुपैयाँ लागतमा २ कोठे घर निर्माण गर्न सफल भएको जिल्ला अध्यक्ष सिङ्तानले बताए ।
घर निर्माणका लागि सुब्बा फर्निचर उद्योग र भट्ट मोबाइल पसलबाट ५/५ बोरा सिमेन्ट र गोपी ग्लान फर्निचरबाट ३ बोरा गरी १३ बोरा सिमेन्ट, बाबुलाल स्याङ्तानबाट ग्राबल र १ टिप बालुवाको ढुवानी सहयोग भएको थियो भने मनहरी ग्रिल उद्योगबाट ढोका बनाउदा छुट पाएको थियो । यसअघि पार्टीका कार्यकर्ताले घर जलेको खबर पाए लगतै १२ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा कपडा सहयोग गरेको थियो ।
घर हस्तान्तरणपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले श्रम संस्कृति पार्टीले पीडित परिवारको पीर, मर्कालाई बुझेर श्रमदानबाट राक्सिराङ्ग गाउँपालिबाटै सामाजिक उत्तरदायित्व अन्तर्गतको कामको सुरुवात गरेकोमा खुशी व्यक्त गरेका छन् । १ महिना पहिले आगोमा जलेर घर नष्ट भएको कुरालाई मुल्याङ्कन गर्दै श्रमदानबाट घर निर्माण गरिदिएकोले पीडित परिवारलाई आश्वासन दिलाएका छन् । घर निर्माण भएपनि घरमा राम्रो शौचालय नभएको कारणले गाउँपालिकाबाट प्यान टायल लगायत सामग्री सौजन्य गरेर शौचालय निर्माण गर्ने कामका लागि पहल गर्ने बताएका हुन् ।
उनले चेपाङ्गले नागरिकता नभएको कारणले विभिन्न सेवा सुविधाको कामबाट बञ्चित भएको बताउँदै वडाबाट सिफारिस गराएर नगरिकता बनाइदिन पहल गर्ने विश्वास दिलाएका थिए । अहिलेको समयमा नागरिकता राष्ट्रिय परिचयपत्र बिना विभिन्न सरकारी सेवा लिन नपाउने अवस्था रहेको बताए ।










