Home मुख्य समाचार नयाँ अनभूति होस्

नयाँ अनभूति होस्

आजबाट नयाँ वर्ष सुरु भएको छ । विक्रम सम्वत् २०८२ लाई बिदा गर्दै २०८३ सुरु भएको छ । नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् । नयाँ वर्ष सुरुको दिनमा नयाँ उमङ्गका साथ खानपिन, घुमफिर, भेटाघाट गरेर मनाइने गरिन्छ । नेपालमा धेरै प्रकारका नयाँ वर्ष मनाइन्छ । विभिन्न चाडपर्व तथा उत्सव पनि उत्तिकै महत्वका साथ मनाउने गरिन्छ । विविध जातजातिको आ–आफ्नै नयाँ वर्ष भए पनि नेपालभर सबैको साझा नयाँ वर्ष भने बैशाखबाट सुरु हुन्छ । नयाँ वर्षबाट नयाँ कामको सुरुवात गरिने भएकाले यसले धेरैको जीवनमा नयाँ जोस र उमङ्ग सञ्चार गर्ने गर्दछ । नयाँ वर्षमा आदानप्रदान गरिने शुभकामनाले पनि नयाँ ऊर्जा प्रदान गर्दछ ।

हरेक देशमा नयाँ वर्षलाई हर्ष र उल्लासका साथ खुुसीयाली साटासाट गर्दै मनाउने चलन छ । नयाँ वर्षको आगमनसँगै सबैले सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना आदानप्रदान गरिरहेका छन् । हरेक नयाँ वर्षमा दिइने शुभकामना औपचारिकतामा सीमित हुने गरेको छ । शुभकामनाका अधिकांश शब्दहरु व्यवहारमा लागू हुन सक्दैनन् । नयाँ वर्षबाट यसो गर्छु, उसो गर्छु भनेर आफैँले गरेको बाचासमेत धेरैको अधुरो नै हुने गरेको छ । त्यसो त कुनै नयाँ कामको सुरुवात गर्न नयाँ वर्ष नै कुर्नुपर्ने हुँदैन । लामो प्रतीक्षापछि नयाँ वर्षको अवसरमा सुरुवात गरेका काम वा बाचालाई सबैले इमान्दारिताका साथ कार्यान्वयन गर्ने हो भने यसको सार्थकता हुन्छ । हरेक नयाँ वर्षमा बाचा वा प्रणमात्र गर्ने तर कार्यान्वयनमा इमान्दार बन्न नसक्दा हामीले सोचेजस्तो अवस्था बन्न सक्दैन ।

हरेक नयाँ वर्षमा नयाँ अनुभूति खोजी गर्दै गर्दा विगतको वर्षको समीक्षा आवश्यक हुन्छ । नयाँ वर्ष २०८३ को स्वागत गर्दै गर्दा २०८२ का नकारात्मक पक्षहरुलाई नदोहो¥याउने प्रण गर्नु आवश्यक छ । नयाँ वर्षमा नयाँ कुराको अपेक्षा गरिरहँदा पुरानो वर्षको गलत कुराहरु त्याग्नुपर्छ । विगतको समीक्षा गर्दै भविष्यको योजना बनाउनुे काम हामी सबैले गर्नुपर्छ । गएको एक वर्षमा केकस्ता उपलब्धि हासिल गर्न सकियो, के कस्ता कमजोरी र विफलताहरु भए भनी तिनको लेखाजोखा गरी त्यसबाट पाठ सिक्दै आगामी वर्षमा सुधार गर्दै जान नयाँ वर्ष एउटा अवसर बन्नुपर्छ । नयाँ वर्षसँगै देशमा नयाँ सरकार आएको छ । सरकारले पनि विगतका कमी, कमजोरीलाई सुधार गरेर आम नेपालीको अपेक्षाबमोजिम नयाँ ढङ्गबाट काम गर्नुपर्छ । भ्रष्टाचारको अन्त्य गर्दै सुशासन दिने र विकास निर्माणका काममा भइरहेका अवरोध अन्त्यमात्र गर्ने हो भने नयाँ सरकारबाट नयाँ वर्षमा आम नेपालीले नयाँ अनुभूति गर्ने अवस्था बन्छ ।

२०८२ साल नेपालीहरुका लागि विशेष रह्यो । जेनजी आन्दोलनको पीडा र विध्वंशसँगै नयाँ जनमतबाट नयाँ सरकार गठन भएको छ । पुराना राजनीतिक शक्ति र नेतृत्व परिवर्तन गरेर नयाँ वैकल्पिक शक्तिको सरकार बनेको छ । नयाँ सरकारले सुरुवातमा देखाएको सकारात्मक शैलीले धेरै नेपालीमा आशाको सञ्चार पनि गरेको छ । नयाँ वर्षको सुरुवात हुँदै गर्दा २०८३ साल विगतका अन्य वर्षहरुभन्दा नेपालीहरुका लागि सुखद् हुने अनुमान गरिएको छ । नयाँ सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पनि परम्परागतभन्दा पृथक र सार्थक हुने अपेक्षा गरिएको छ । सरकार गठन भएलगत्तै सार्वजनिक गरिएको एक सय बुँदे शासकीय सुधारका कामहरुको सफल कार्यान्वयन भएमा नयाँ वर्ष २०८३ साँच्चै नयाँ अनभूति हुने देखिन्छ । नेपालीहरुको नयाँ वर्षको अवसरमा प्रत्येक नेपालीले नवीन र सार्थक कामको सुरुवात गर्न सकून् । नयाँ वर्ष २०८३ को अवसरमा हाम्रा सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धिका साथै नवीन अनभूतिको हार्दिक मंगलमय शुभकामना ।

Exit mobile version