Home मुख्य समाचार जनस्वास्थ्यद्वारा मकवानपुरगढीमा एकीकृत स्वास्थ्य शिविर

जनस्वास्थ्यद्वारा मकवानपुरगढीमा एकीकृत स्वास्थ्य शिविर

एकीकृत स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका स्थानीय ।

हेटौँडा : जनस्वास्थ्य कार्यालय मकवानपुरले मकवानपुरगढी गाँउपालिकामा एकीकृत जनस्वास्थ्य र पोषण अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शुक्रबार मकवानपुरगढी गाँउपालिकाको समन्वयमा वडा नम्बर १ स्थित आँपटार आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा ४ सय १७ जना सेवाग्राहीले विशेषज्ञ सेवा प्राप्त गरेका छन् । शिविरमा ८ जना विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीहरुको २ सय ५४ महिला तथा १ सय ६३ जना पुरुष सेवाग्राहीहरुले विशेषज्ञ सेवा प्राप्त गरेका हुन् । यिमध्ये सबैभन्दा बढी नसर्ने रोगहरुको २ सय ४६ जना सेवाग्राहीले स्वास्थ्यजाँच गराएका थिए । यस्तै जनरल फिजिसियन सेवा ७८ जनाले लिएका छन् । स्त्री तथा प्रसुति स्वास्थ्यमा ३२ जना, नाक, कान तथा घाँटीसम्बन्धी ३२ जना, हाडजोर्नी तथा नसा सम्बन्धी ८१ जना, आयुर्वेद सम्बन्धी १ सय १४ जना, मनोसामाजिक परामर्श सेवा २१ जनाले प्राप्त गरेका थिए । शिविरमा ४१ जना बालबालिकाहरुको बाल स्वास्थ्य सम्बन्धी सेवा प्रदान गरिएको थियो ।

महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर परीक्षण सेवामा १ सय २८ जना महिलाहरुले परीक्षण सेवा प्राप्त गरेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गराएका मध्ये २ जना क्यान्सरका शंकास्पद अवस्था देखिएकोले थप उपचारका लागि सिफारिस गरिएको र पाठेघरमा समस्या भएका २ जनालाई रिङ पेसरी लगाइएको पनि घिमिरेले स्पष्ट पार्नुभयो । यसबाहेक स्वास्थ्य जाँच गरिएका बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो । कार्यक्रममा स्वास्थ्य सेवासँगै आधारभूत पोषणका खाद्य परिचय सहितका प्रदर्शन गरिएको थियो ।

शिविरको उद्घाटन कार्यक्रममा मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ, पालिकाका प्रमुख प्रशासकीय प्रमुख सुधन लामिछाने, वडाध्यक्ष आइत सिं लो, पालिकाका जनस्वास्थ्य शाखा प्रमुख ध्रुव लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version