हेटौँडा : नेपाल सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि हेटौँडा अस्पतालले आइतबार आधा दिन ओपिडि सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले चैत्र २२ गते हप्तामा दुइ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै हेटौंडा अस्पतालले अबदेखि आइतबार आधा दिन बहिरंग सेवा (ओपिडि) दिने भएको हो ।
अस्पतालका निर्देशक डा. रामचन्द्र सापकोटाका अनुसार अबदेखि हरेक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म ओपिडि सेवा सञ्चालन हुनेछ । आइतबार ओपिडि सेवासँगै अस्पतालको प्रशासनका केही शाखाहरु खुल्ने बताउनुभयो । डा. सापकोटाका अनुसार प्रशासन अन्तर्गत निर्देशक कक्ष, अस्पताल व्यवस्थापक कक्ष, प्रशासन कक्ष, बीमा शाखा, मेडिकल रेकर्डर शाखा तथा दर्ता रिफर काउन्टर खुल्ला रहनेछ । सोमबारदेखि शुक्रबारसम्म अस्पतालको ओपिडि बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ने छ भने प्रशासन शाखा भने बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म खुल्ने अस्पतालले जनाएको छ ।
नेपाल चिकित्सक संघले आइतबार पनि नियमित सेवा प्रवाह गर्दा आफ्नो कार्यबोझ बढ्ने भन्दै बिरोध गरिरहेको छ । यद्यपी सरकारको निर्णय फेरिएमा मात्र अस्पतालको समय हेरफेर गरिने अन्यथा यही निर्णय बमोजिम काम गरिरहने हेटौंडा अस्पतालका प्रवक्ता उत्सव चौलागाईले बताउनुभयो । अस्पतालको इमर्जेन्सी, वार्ड, आइसियु, सिटि स्क्यान, एक्सरे, फार्मेसी, अपरेसन थिएटरमा भने २४ सै घन्टा सेवा प्रवाह भइरहने भएकोले यसअघिकै नियमित हुने र दैनिक बिहानी, दिउँसो तथा रात्री गरी तीन सिफ्टमा चल्ने समेत चौलागाईले जानकारी दिनुभयो ।
