हेटौँडा : हेटौँडाका सामुदायिक विद्यालयहरु भर्ना अभियानका लागि घरदैलो कार्यक्रम गर्ने सुरु गरेका छन् । सामुदायिक विद्यालयहरुले अनिवार्य घरदैलो कार्यक्रम गर्नैपर्ने नीतिअनुरुप विद्यालयहरुले वार्षिक परीक्षा सकिएसँगै भर्ना अभियानका लागि घरदैलो अभियान सुरु गर्न लागेका हुन् । अधिकांश विद्यालयहरु वार्षिक परीक्षाको नतिजापछि मात्र घरदैलो कार्यक्रममा जाने तयारीमा छन् भने केही विद्यालयले घरदैलो कार्यक्रमलाई महत्व दिँदै नतिजा अघि नै शूरु गरिसकेका छन् ।
हेटौंडा–७ स्थित नवज्योति माविले आज बुधबारदेखि घरदैलो कार्यक्रम गर्ने तयारीमा रहेको छ । नतिजा प्रकाशन गर्नुअघि घरदैलो गर्न नभ्याइने भएकोले बुधबारदेखि घरदैलो गरिने विद्यालयका प्रधानाध्यापक उपेन्द्र पौडेलले जानकारी दिनुभयो । यस वर्ष विद्यालयमा करिब २ सय विद्यार्थीहरुले परीक्षा दिएको उहाँको भनाइ छ । विद्यालयमा बस सुबिधा तथा अंग्रेजी माध्यममा पठनपाठन लगायतका विद्यालयका सुबिधाबारे जानकारी गराउँदै बैशाख पहिलो सातासम्म नै घरदैलो रुपमा अभिभावक तथा बिद्यार्थी भेट्ने कार्यक्रम गरिने प्रधानाध्यापक पौडेलको भनाइ छ । यसअघि पनि परीक्षा समयमा विद्यार्थीको घरदैलो कार्यक्रम गरिएको बताउँदै पौडेलले परीक्षाको कारण बीचमा घरदैलो बन्द गरिएको बताउनुभयो । यस विद्यालयमा केही वर्षदेखि निरन्तर विद्यार्थी संख्या घट्दै गएकोप्रति स्थानीय तथा विद्यालय प्रशासन चिन्तित रहेका छन् । यसैले यस वर्षको घरदैलो प्रभावकारी बनाई १ सय जना विद्यार्थीहरु भर्ना अभियानमार्फत थप्ने लक्ष्य रहेको पौडेलले उल्लेख गर्नुभयो ।
यस्तै हेटौँडा–१२ स्थित प्रतिभा आधारभूत विद्यालयले पनि वार्षिक परीक्षाको नतिजापछि नै घरदैलो अभियान चलाउने जनाएको छ । विद्यालयकी प्रधानाध्यापक सविना लामाले हाल विद्यालयमा डेढ सयको हाराहारीमा मात्र विद्यार्थीहरु उत्तिर्ण भएको पाइएकोले घरदैलो कार्यक्रम प्रभावकारी रुपमा गर्ने बताउनुभयो । विद्यालयले सबै बिद्यार्थीहरुलाई एक सेट पोसाक वितरण गर्ने गरिएको तथा यस वर्षबाट कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्ने उद्देश्य अनुरुप विद्यार्थी संख्या बढाउने विद्यालयको लक्ष्य रहेको बताउनुभयो । उहाँले पनि वार्षिक परीक्षाको नतिजा तयारीले गर्दा तत्कालै भर्ना अभियान तथा घरदैलो कार्यक्रम गर्न नसकिएको बताउनुभयो ।
हेटौँडा–४, कर्रास्थित श्रमिक माविले भने वार्षिक परीक्षाफल प्रकाशन नगर्दै घरदैलो अभियान सुरु गरिसकेको छ । विद्यालयले गत चैत्र १९ गतेबाट नै घरदैलो सुरु गरिसकेको छ । हाल विद्यालयमा ७ सय ८२ जना विद्यार्थीहरु नियमित रहेका छन् । शैक्षिक सत्र २०७८÷०७९ मा यस विद्यालयमा २ सय ५० जना मात्र विद्यार्थीहरु अध्ययन गर्दथे । भर्ना अभियानकै क्रममा अधिकांश अभिभावकहरुले घरदैलोपछि मनस्थिति परिवर्तन गरी श्रमिक माविमै आफ्ना बालबालिकालाई भर्ना गर्ने गरेको विद्यालयका सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेलको अनुभव छ । आफ्नो विद्यालयमा रहेका गुणस्तर तथा सुबिधाबारे जानकारी दिन शिक्षकहरु घरदैलो नगए अभिभावकहरु भ्रममा पर्ने वा जानकारी प्राप्त नहुँदा बिद्यालयप्रति नकारात्मक सोच राख्ने गरेको तर घरदैलोले यस्ता भ्रम चिरेर सही सूचना अभिभावकसँग पु¥याउन सहयोग पुग्ने समेत उहाँले दावी गर्नुभयो ।
यस विद्यालयले घरदैलोलाई प्राथमिकता दिँदै गत वर्ष पनि चैत्र १८ गतेबाटै घरदैलो सुरु गरेको विद्यालयले श्रमिक पूर्व क्रियाशील विद्यार्थी समूह मार्फत वार्षिक २५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति सुबिधा ददै आएका जानकारी दिँदै यसले अभिभावकहरु खुशी भएको बताउनुभयो । यो विद्यालयको क्षेत्रमा अस्थायी रुपमा भाडामा बसोबास गर्ने अभिभावकहरुको सँख्या धेरै रहेकोले बिद्यालय छोड्ने सँख्या अधिक भएपनि प्रतिवर्ष विद्यार्थी संख्या बढेरै गएकोले विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा फर्काउन पनि घरदैलो नै उत्तम विधि भएको प्याकुरेलले उल्लेख गर्नुभयो । उहाँले आफ्नो विद्यालयले हरेक बर्ष चैत्र आधादेखि बैशाख आधासम्म करिब १ महिना नै घरदैलो गर्ने गरेको बताउनुभयो ।











