Home मुख्य समाचार आनन्द भैरव आविमा अभिभावक भेला

आनन्द भैरव आविमा अभिभावक भेला

अभिभावक भेलामा सहभागी अभिभावकहरु ।

हेटौँडा : हेटौँडा–११ स्थित आनन्द भैरव आधारभूत विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । वडाध्यक्ष जुना दाहालको उपस्थितिमा बुधबार सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समितिका लागि चार जना अभिभावक सदस्यहरू सर्वसम्मत रूपमा चयन गरेको छ ।

चयन हुनेहरूमा रामबहादुर थोकर, कल्पना आले, सीतामाया थोकर र ईश्वर सिलवाल (नविन) रहेका छन् । गत फागुन १ गते नै निवर्तमान अध्यक्ष प्रकाश चन्द्र पाण्डे नेतृत्वको समितिको कार्यकाल पूरा भए पनि निर्वाचन आचारसंहिताका कारण अभिभावक भेला हुन नसकेको र नयाँ समिति गठन प्रक्रिया रोकिएको विद्यालयका प्रधानाध्यापक राजु घिमिरेले जानकारी दिनुभयो । प्रधानाध्यापक घिमिरेका अनुसार चार जना अभिभावकको टोलीले एक जना महिला र एक जना पुरुष गरी दुई जना समाजसेवीलाई सदस्यको रूपमा छनोट गर्नेछ । यसैगरी विद्यालयका शिक्षकहरूबाट एक जना र वडाबाट एक जना प्रतिनिधि गरी ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउनेछ ।

बुधबार नै समितिलाई पूर्णता दिने लक्ष्यसहित अभिभावक भेला आह्वान गरिए पनि वर्षाका कारण बैठक प्रभावित भएकाले आगामी आइतबारसम्ममा समितिको टुङ्गो लाग्ने प्रधानाध्यापक घिमिरेले बताउनुभयो । निवर्तमान अध्यक्ष प्रकाशचन्द्र पाण्डेको सभाध्यक्षतामा भएको सो भेलामा विद्यालय प्रशासनले विद्यालयको आर्थिक प्रतिवेदन र आगामी शैक्षिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो । भेलाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक तथा विद्यार्थीहरूका लागि ‘अनुशासन आचारसंहिता’ लागू गर्ने निर्णय समेत गरेको छ । विद्यालयको शैक्षिक, आर्थिक तथा अन्य गतिविधिहरूको अनुगमनका लागि अभिभावकहरूकै नेतृत्वमा एउटा छुट्टै अनुगमन समिति समेत बनाइने उहाँले बताउनुभयो । उक्त समितिले विद्यालयमा लागू गरिने आचारसंहिता र समग्र क्रियाकलापको नियमित निगरानी गर्नेछ ।

Exit mobile version