Home मुख्य समाचार निजी अस्पताललाई प्रदेश सरकारको निर्देशन, न्यूनतम पारिश्रमिक उपलब्ध गराउ

निजी अस्पताललाई प्रदेश सरकारको निर्देशन, न्यूनतम पारिश्रमिक उपलब्ध गराउ

हेटौँडा : स्वास्थ्यकर्मीहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउन बागमती प्रदेश सरकारले निर्देशन दिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित सबै निजी तथा गैरसरकारी अस्पतालहरुलाई स्वास्थ्यकर्मीहरुको न्यूनतम पारिश्रमिक र सेवा सुविधा अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मन्त्रालय अन्तर्गत दर्ता तथा नवीकरण भएका विभिन्न अस्पतालहरुमा कार्यरत नर्सिङ स्टाफ र अन्य स्वास्थ्यकर्मीहरुले तोकिएको न्यूनतम पारिश्रमिक र सुविधा नपाएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले श्रम ऐन, २०७४ को स्मरण गराउँदै श्रमिकका रुपमा कार्यरत व्यक्तिहरुलाई रोजगारदाताले कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष र बीमा लगायतका सामाजिक सुरक्षा सम्बन्धी सुविधाहरु उपलब्ध गराउनुपर्ने स्पष्ट पारेको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरोकारवाला पक्षहरुबीच २०८२ कात्तिक १५ मा भएको सम्झौतालाई समेत पूर्णरुपमा पालना गर्न निर्देशन दिइएको हो । कुनै स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधाबाट वञ्चित गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी समेत दिएको छ । मन्त्रालयले अस्पतालहरुको नियमित अनुगमन गर्ने र सो क्रममा तोकिएको व्यवस्था कार्यान्वयन नभएको पाइएमा आवश्यक कानुनी तथा प्रशासनिक कदम चाल्न मन्त्रालय बाध्य हुने जनाएको छ ।

Exit mobile version