हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले आगामी बैशाख २ गतेदेखि प्राध्यापक, कर्मचारीहरूका लागि बायोमेट्रिक हाजिरी प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भएको छ । क्याम्पस प्रशासनले सोमबार एक सूचना जारी गर्दै ‘बायोमेट्रिक हाजिरी कार्यविधि–२०८२’ अनुसार क्याम्पसमा अध्यापनरत सबै प्राध्यापक, कर्मचारीहरूले अनिवार्य रूपमा बायोमेट्रिक हाजिरी गर्नुपर्ने जनाएको हो ।
नयाँ व्यवस्था अनुसार, पूर्णकालीन दरबन्दीमा कार्यरत प्राध्यापकहरूले क्याम्पस आउँदा र जाने समयमा अनिवार्य हाजिरी गर्नुपर्नेछ । त्यसैगरी, आंशिक प्राध्यापकहरूको हकमा भने आफ्नो कक्षा सुरु हुनुअघि र कक्षा समाप्त भएर बाहिरिनुअघि बायोमेट्रिक हाजिरी गर्नुपर्ने छ । क्याम्पसमा गत साउन महिनादेखि बायोमेट्रिक हाजिरीको अभ्यास सुरु भएको क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि क्याम्पसमा कार्यरत कर्मचारीले मात्रै बायोमेट्रिक हाजिरी गर्ने गरेका थिए । क्याम्पसमा हाल ९० जना प्राध्यापक र ३० जना कर्मचारी कार्यरत छन् । सबै कुरालाई डिजिटलाइज गर्दै पेपरलेस प्रणाली लैजान क्याम्पस प्रयासरत रहेको सोही अनुरुप प्राध्यापक हाजिरीलाई पनि परम्परागत रजिस्टर व्यवस्थालाई विस्थापित गरी प्रविधियुक्त हाजिरीको व्यवस्था गरिएको क्याम्पस प्रमुख सिलवालको भनाइ छ ।
कक्षा ११ देखि स्नात्तकोत्तर तहसम्म पठनपाठन मकवानपुर क्याम्पसमा करिब ६ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा बिहान, दिउँसो र सन्ध्या गरी तीन सिफ्टमा पठनपाठन हुने गर्दछ । सबै कुरालाई डिजिटलाइज गरी पेपरलेस अवधारणाका साथै परम्परागत शिक्षा प्रणालीलाई विस्थापित गर्दै व्यवहारिक र सीपयुक्त शिक्षामा क्याम्पस प्रशासनले जोड दिइरेहेको क्याम्पस प्रमुख सिलवालले बताउनुभयो ।
