Home खेलकुद जीतपुर–सिमरा क्रिकेट कप : मकवानपुरको विजयी सुरुवात

जीतपुर–सिमरा क्रिकेट कप : मकवानपुरको विजयी सुरुवात

मकवानपुरको क्रिकेट टिम । फाइल तस्वीर ।

हेटौँडा : बाराको जीतपुर–सिमरामा जारी तेस्रो जीतपुर–सिमरा क्रिकेट कप टि–२० प्रतियोगितामा मकवानपुर क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । मंगलबार आयोजक जीतपुर–सिमरा स्पोर्टस् क्लबलाई पराजित गर्दै मकवानपुरले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

मंगलबार भएको खेलमा मकवानपुरले आयोजक जीतपुर–सिमरालाई ६ रनले पराजित गरेको छ । टस जितेर सुरुमा व्याटिङ गरेका मकवानपुरले जीतपुरसिमरा स्पोर्टस क्लबलाई १५३ रनको लक्ष्य दिएको थियो । मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो । मकवानपुरका लागि गोकुल अधिकारीले ३५ रन, राजा अहमदले १९ र विशेष विक्रम थापाले १८ रन बनाए । जीतपुरका आशिफ शेख र रेहान जाकिरले समान २/२ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गरेको जीतपुर–सिमरा स्पोर्टस् क्लबले निर्धारित २० ओभरमा ९ गुमाएर १४६ रन मात्रै बनाउन सक्यो । जीतपुर–सिमराका लागि राहुल यादवले अविजित ३५ रनको पारी खेले भने राहुल हकीले ३७ रन र विकास सर्राफले २६ रन बनाए । मकवानपुरका साकार गजुरेलले ३ विकेट, रोहित ठाकुर र विशाल फुयालले समान २/२ विकेट लिए । मकवानपुर क्रिकेट क्लब प्रतियोगिताको आफ्नो अर्को खेलमा बिहीबार चितवनसँग भिड्ने छ ।

जीतपुर–सिमरा स्पोर्टस् क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई दुई वटा समूहमा बाँडिएको छ । समूहमा ‘ए’ मा मकवानपुरसँगै, चितवन र आयोजक टिम रहेको छ भने समूह ‘बि’ मा बारा, पर्सा र सर्लाही रहेको छ । दुवै समूहका विजेता बीच आउँदो शनिबार प्रतियोगिताको फाइनल खेल हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले २ लाख र उपविजेता टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

Exit mobile version