पालिकाले सार्वजनिक गरेको विद्यालयगत नतीजा ।

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाले कक्षा–८ को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ । बुधबार बिहान पालिकाले सामाजिक सञ्जालमा नतीजा सार्वजनिक गरेको छ । चैत ८ गतेदेखि १६ गतेसम्म भएको परीक्षामा पालिकाका १५ वटा विद्यालयका ३ सय ८० जना विद्यार्थी सहभागी थिए ।

परीक्षामा सहभागी मध्ये २ सय ९३ जना (७७.११ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । पालिकास्तरीय परीक्षामा राक्सिराङ–२, कुडुलेस्थित प्रजा प्रगति आधारभूत विद्यालय, राक्सिराङ–४, देवीटारस्थित श्री आधारभूत विद्यालय र राक्सिराङ–९ स्थित बागेश्वरी आधारभूत विद्यालयको नतीजा शतप्रतिशत आएको छ । प्रजा जागृतिबाट २१ जना, श्री आधारभूतबाट ७ जना र बागेश्वरीबाट १९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । पालिकाका १५ विद्यालय मध्ये राक्सिराङ–४ स्थित कालिका माध्यमिक विद्यालयको नतीजा सबैभन्दा कमजोर देखिएको छ । कालिका माध्यमिक विद्यालयबाट कक्षा–८ को परीक्षामा ६ जना सहभागी हुँदा २ जना मात्रै ग्रेडेड भएका छन् ।