हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–१६ हटियामा अवैध घरेलु मदिरा उत्पादन गर्ने तीन जनालाई पक्राउ गरेको छ । सोमबार साँझ ५ बजेर ३० मिनेटको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरासहित ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रे जिल्लाको तेमाल गाउँपालिका–५ घर भई हाल हेटौँडा–१६ बस्दै आएका ६७ वर्षीय भिमान सिंह तामाङलाई मदिरा भट्टी सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही भट्टीमा काम गर्ने १९ वर्षीय लिला बहादुर तामाङ र मकवानपुरको बकैया गाउँपालिका–४, हात्तिसुडेका २२ वर्षीय शिवराज ठकुरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले ५ सय लिटर तयारी घरेलु मदिरा र २ हजार ५ सय लिटर कच्चा पदार्थ नष्ट गरेको जानकारी दिएको छ । मदिरा बनाउने मेसिन, १५ वटा प्लास्टिक ड्रम, ७ वटा ग्यास सिलिन्डर, ३ वटा फलामका स्टेन्ड, एक भट्टी चुलो, मर्चा र सोडा आधा–आधा कार्टुन तथा ४० बोरा कोदो बरामद गरेको छ । बरामद गरिएका सामग्रीसहित तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी कारवाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











