
हेटौँडा: राक्सिराङ गाँउपालिकाले बृहत एकीकृत घुम्ती शिविर अन्तर्गत वडा न ८ मा विविध कार्यक्रम गर्दै सम्पन्न गरेको छ । सोमबार पालिकाले विविध कार्यक्रमहरु गर्दै शिविरको समापन गरेको छ । सोमबार देवीटार, गोङर्याङ, पाङथली हुँदै सिलिङ्गे जोड्ने कच्ची सडक उद्घाटन गरिएको छ । शिविरकै अवसरमा ३ वटा सडक अनुगमन गरिएको पालिकाले जनाएको छ । यस्तै कृषि तथा पशुपन्छी विकासका लागि १ सय ४१ जना कृषकहरुलाई घाँसको बीउ र औषधि वितरण गरिएको थियो । यस्तै १ सय ४१ जनालाई नै तरकारीको बीउ वितरण गरिएको छ । कृषि विकासकै लागि वडामा मिनि ट्रिलर २ थान वितरण गरिएको छ ।
यस्तै पालिकाले शिविर अन्तर्गत २ सय १५ जनाको स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधि वितरण गरिनुको साथै वडाका ५ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता कार्ड वितरण गरिएको छ । यस्तै शिविर अन्तर्गत समस्यामा परेका तथा आगलागी तथा हुरीबतासबाट पीडित २ घरधुरीलाई ४ बन्डल जस्तापाता वितरण गरिएको पालिकाले जनाएको छ । यस्तै वडाका ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम अन्तर्गत ६ जनालाई पोषणयुक्त खाद्यसामग्री वितरण, सुत्केरी महिलाहरुसँग भेटघाट तथा कोसेली वितरण गरिएको छ । साथै पालिकाद्वारा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । स्वास्थ्य परीक्षण कार्याक्रममा वडाका २ सय २५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै न्यायिक समितिले लैंगिक तथा घरेलु हिंसा र कानुनी उपचार सम्बन्धी वडास्तरीय कार्यक्रम सम्पन्न गरेको छ ।
‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित पालिकाले प्रत्येक वर्ष गर्दै आएको यस शिविरमा प्रतिवर्ष ४ वटा वडाहरुको दरले शिविर गर्दै आएको पालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष सुरु भएपछि गाँउपालिकाले वडा नम्बर १, ७, ८ र ९ मा यस्ता शिविरहरु सम्पन्न गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रशासकीय प्रमुख सन्देश मास्के, वडा नम्बर ८ का वडा अध्यक्ष हविल प्रजा, बरिष्ठ शाखा अधिकृत गोविन्द अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।










