
हेटौँडा : झण्डै दुइतिहाई बहुमतको सरकार गठन भएसँगै देशव्यापी रुपमा प्रहरी, प्रशासन सक्रिय भएको छ । प्रहरी, प्रशासनको देशव्यापी सक्रियतासँगै मकवानपुरमा पनि प्रहरी, प्रशासनको सक्रियता सशक्त देखिएको छ । प्रहरीले गुण्डागर्दी गर्नेदेखि विचौलिया र सर्वसाधारणलाई दुख दिनेहरुलाई नियन्त्रणमा लिएको छ । अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र जनमुखी बनाउन प्रशासनको सक्रियता पनि तीव्र देखिएको छ । सामान्यतः प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा कार्यालय प्रमुखहरुलाई बोलाएर हुने छलफल र निर्देशन विपरित पछिल्लो समय मकवानपुरका प्रमुख जिल्ला अधिकारी नै सम्बन्धित कार्यालयमा पुगेर सेवाप्रवाह कसरी व्यवस्थित र प्रभावकारी बनाउने भनेर सहजीकरण गरिरहनु भएको छ । प्रहरीले हेटौँडा बजारको प्रमुख सडकमा पार्किङ निषेध गर्न सुरु गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रमा प्रहरीले सोमबारदेखि पार्किङ निषेध गरेको छ ।
प्रहरीले सोमबार अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने २ वटा ट्र्याक्टर र चालकसहित ५ जनालाई मकवानपुर पक्राउ गरेको छ । सोमबार दिउँसो ३ बजेको समयमा हेटौँडा–१, राप्ती खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थहरु उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले ना ५ त ६७०० नम्बरको ट्र्याक्टर र चालक हेटौँडा–३, बसामाडीका ४२ वर्षीय सोम बहादुर लो, ना ३ त १२३१ नम्बर ट्र्याक्टर र चालक हेटौँडा–१, चौकीटोलका २७ वर्षीय धन बहादुर थिङ, हेटौँडा–१, चोकिटोलका २५ वर्षीय प्रेम बलामी मगर, मनहरी गाउँपालिका–४, नयाँबस्तीका ४७ वर्षीय केशव वाईबा र मनहरी–४, मसिनेका ४८ वर्षीय रमन प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीद्वारा सञ्चालित ‘अप्रेशन ड्रप’ अन्तर्गत सोमबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मनहरी गाउँपालिका अन्तर्गत सडकखण्डमा गरेको आकस्मिक सुरक्षाजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार ६५ वटा सवारी जाँच गरिएकोमा १२ जना चालकले लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ । ‘अपरेशन ड्रप’ अन्तर्गत यसअघि मकवानपुर प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो ।