Home मुख्य समाचार राष्ट्रिय पुरस्कारबाट हेटौँडाका पराजुली सम्मानित

राष्ट्रिय पुरस्कारबाट हेटौँडाका पराजुली सम्मानित

अर्पण पराजुलीलाई सम्मान गरिँदै ।

हेटौँडा : कोइराला सेवा समाज नेपालले ‘डिट्ठा कुलप्रसाद कोइराला राष्ट्रिय समाजसेवी पुरस्कार–२०८२’ बाट हेटौँडाका अभियन्ता अपर्ण पराजुली सम्मानित हुनुभएको छ । कोइराला सेवा समाज नेपाल काठमाडौंको ३० औँ वार्षिक साधारण सभा तथा १० औँ महाअधिवेशनको अवसरमा शनिबार पराजुलीलाई सम्मान गरिएको हो ।

पराजुलीलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । उहाँ सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरको परिकल्पनाकार तथा संरक्षक हुनुहुन्छ । मामाघर नेपालले २०६८ सालदेखि हेटौँडा र आसपासका क्षेत्रमा सडक बालबालिकाको आपतकालिन राहत, उद्दार, परामर्श, आवासीय सुविधा, औपचारिक शिक्षा र सीप प्रदान गर्दै आएको छ । हालसम्म २ हजार २ सय ७६ जना अनाथ, असहाय र सडक आश्रित बालबालिकालाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । २०६८ सालमा पराजुली आफैँ ३ महिनासम्म बालबालिकाहरुसँग सडकमा बसेर अनुसन्धान गर्नुभएको थियो । बालबालिकाहरुले आफूलाई मामा भनी सम्बोधन गरेकोले हेटौँडा उपमहानगरपालिकाको सल्लाहमा संस्थाको नाम मामाघर नेपाल राखिएको उहाँको भनाइ छ ।

स्थापना कालमा भाडाको घरबाट सुरु भएको मामाघर नेपाल सिद्धिलाल श्रेष्ठले २ कट्ठा सवा १४ धुर जग्गा दान दिएपछि हाल हेटौँडा–११ स्थित आफ्नै भवनमा सञ्चालित छ । पराजुलीका अनुसार सुरुमा ९ वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदा हेटौँडा उपमहानगरपालिकाले भाडा शुल्क तिर्ने गरेको थियो । सिद्धिलाल श्रेष्ठबाट जग्गा प्राप्त भएपछि ‘एक व्यक्ति, एक इट्टा’ अभियान सञ्चालन गरी संस्थाले भवन निर्माण गरेको उहाँले जानकारी दिनुभयो । हाल मामाघरमा २४ जना बालबालिका छन् । नियमित आम्दानीका केही स्रोत नभएपनि व्यक्तिहरुको जन्मदिन, वैवाहिक वर्षगाँठ, संस्थाको स्थापन दिवस पित्तृ श्राद्ध आदिमा प्राप्त सहयोगबाट बालबालिकाहरुको पालनपोषण भइरहेको उहाँको भनाइ छ ।

Exit mobile version