Home खेलकुद प्रधानमन्त्री कप क्रिकेट : अर्जुनको शतकमा त्रिभुवन आर्मीको फराकिलो जित

प्रधानमन्त्री कप क्रिकेट : अर्जुनको शतकमा त्रिभुवन आर्मीको फराकिलो जित

प्लेयर अफ द म्याचको ट्रफी ग्रहण गर्दै आर्मीका अर्जुन साउद ।

हेटौँडा: जारी पुरूष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ मा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । सोमबार वीरगन्जको नारायणी रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ ले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको छ । जारी प्रतियोगितामा हालसम्म ६ खेल खेलेका आर्मी क्लबले ५ मा जित र एक खेलमा अंक बाँडेको छ ।

सोमबार भएको खेलमा टस जितेर सुरुमा व्याटिङ गरेको आर्मी क्लबले कर्णाली प्रदेशलाई २६९ रनको लक्ष्य दिएको थियो । आर्मी क्लब ४८ ओभरमा २६८ रनमा अलआउट भएको थियो । आर्मी क्लबका अर्जुन साउदले १२१ रनको शतकीय पारी खेले । बसिर अहम्दले ४५ रन, सन्तोष कार्कीले २९ र नरेन साउदले २० रन बनाए । कर्णालीका दिनेश अधिकारीले ४ विकेट र प्रकाश जैसीले ३ विकेट लिए । लक्ष्य पछ्याएको कर्णाली प्रदेश १३० रनमै रोकियो । कर्णाली प्रदेश ४२ ओभर १ बलमा १३० रनमा अलआउट भयो । कर्णाली प्रदेशका विपिन विक्रम शाही ठकुरीले सर्वाधिक ४० रन बनाए । अर्जुन घर्ती मगरले ३२ रन र दिपेन्द्र रावतले २५ रन बनाए भने कर्णालीका अन्य व्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । आर्मी क्लबका बसिर अहमद र साहब आलमले समान ३/३ विकेट लिए भने आकाश चन्दले २ विकेट लिए । आर्मीको जितमा नायक बनेका अर्जुन साउद प्लेयर अफ द म्याच घोषित भए । जारी प्रतियोगितामा कर्णाली प्रदेशको यो पाँचौँ हार हो । हालसम्म ७ वटा खेल खेलेका कर्णाली प्रदेश एक खेलममा मात्र जित निकाल्न सकेको छ भने एक खेलमा अंक बाँडेको छ ।

यस्तै, सोमबार जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको अर्को खेलमा नेपाल एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले पराजित गरेको छ । टस हारेर सुरुमा व्याटिङ गरेको एपीएफ क्लबले सुदूरपश्चिमलाई २६० रनको लक्ष्य दिएको थियो । एपीएफ क्लबले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो । एपीएफ क्लबका सन्दिप जोराले ५५, लोकेश बमले ४७, दीपक बोहराले ४६ र सुमित महर्जनले ४१ रन बनाए । सुदूरपश्चिमका कप्तान शेल मल्लले ३ विकेट, अशोक धामी र विकास अग्रीले समान २/२ विकेट लिए ।

जवाफी व्याटिङ गरेको सुदूरपश्चिम प्रदेश ४६ ओभर ३ बलमा २१४ रनमा अलआउट भयो । सुदूरपश्चिमका अशोक धामीले ५० रन र अभिषेक पालले ४४ रन बनाए । एपीएफ क्लबका युवराज खत्रीले ५ विकेट र अभिषेक गौतमले २ विकेट लिए । घातक बलिङ्ग गरेका खत्री प्लेयर अफ द म्याच घोषित भए । जारी प्रतियोगितामा ११ अंकसहित त्रिभुवन आर्मी क्लब अंक तालिकाको शीर्षस्थानमा रहेको छ । १० अंकसहित सुदूरपश्चिम दोस्रो र ७ अंकसहित नेपाल एपीएफ क्लब छैठौं स्थानमा रहेको छ भने ३ अंकसहित कर्णाली प्रदेश पुच्छारबाट दोस्रो स्थानमा रहेको छ ।

Exit mobile version