Home अर्थ/व्यापार उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

उम्मेदवारी घोषणा गर्नुहुँदै वेदबहादुर श्रेष्ठ ।

हेटौँडा : नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समिति अध्यक्षका लागि वेद बहादुर श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडामा सोमबार बिहान पत्रकार सम्मेलन मार्फत् श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् । प्यानलसहित उम्मेदवारी घोषणा गरेका श्रेष्ठले ९ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । सोमबारबाटै साधारणसभा सुरु भएको छ भने निर्वाचनको कार्यक्रम मंगलबार हुनेछ ।

‘पारदर्शी र उत्तरदायी नेतृत्व’को मुख्य नारासहित श्रेष्ठको टिमले बागमती प्रदेशका उद्योगी र व्यवसायीहरुको हकहितका लागि विभिन्न योजनाहरु अघि सारेका छन् । अध्यक्षका प्रत्यासी श्रेष्ठले निजी क्षेत्रको सशक्त उपस्थिति र समस्या समाधानका लागि आफ्नो टिम सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो नेतृत्वमा भवन नभएका जिल्ला/नगर उद्योग वाणिज्य संघहरुका लागि जग्गा प्राप्ति र भवन निर्माणमा तीनै तहका सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने एजेण्डा अघि सारेका छन् भने बागमती प्रदेश उद्योग वाणिज्य महासंघको आफ्नै सुविधासम्पन्न सचिवालय भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने घोषणा गरेका छन् ।

बागमती प्रदेश सरकारले जारी गरेको ‘प्रदेश व्यवसाय ऐन २०७६’ लाई व्यवसायीमैत्री बनाउन आवश्यक संशोधनका लागि पहल गर्ने, उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासंघको केन्द्रीय नेतृत्वसँग निरन्तर अन्तरक्रिया र समन्वय गर्ने, आधुनिक कृषि प्रणाली र प्रविधिका लागि विशेष पहल गर्ने, कृषि, पर्यटन, जलविद्युत र व्यापारलाई निजी क्षेत्रको मुख्य सरोकारको विषय बनाउँदै प्रदेश सरकारसँग सहकार्य गर्ने, ‘व्यवसायमा महिला, बागमती प्रदेशमा पहिला’ अभियानमार्फत महिला उद्यमीका उत्पादनलाई बजारीकरण गर्न तीनै तहका सरकारसँग समन्वय गर्ने उनको प्रतिवद्धता रहेको छ ।

महासंघलाई समावेशी, पारदर्शी र संस्थागत सुशासन कायम भएको संस्थाको रूपमा स्थापित गर्ने, रसुवागढी र तातोपानी नाकामा आयात–निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने, साथै दोहोरो कर, नापतौल, अन्डर बिलिङ र मिसम्याचका समस्या समाधानमा विशेष पहल गर्ने, जिल्ला नगर, एशोसिएट र वस्तुगत संघहरुसँग समन्वय गरी उद्योगी व्यवसायीका समस्या समाधानमा हरक्षण क्रियाशील रहने उनको प्रतिवद्धतामा उल्लेख छ ।

श्रेष्ठ नेतृत्वको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा कृष्ण कुमार गुप्ता, एशोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा राजकुमार दाहाल रहेका छन् । कोषाध्यक्षमा रुद्र बहादुर खत्री रहेका छन् भने सदस्यहरुमा जिल्ला नगरतर्फ कृष्ण मुरारी न्यौपाने, जयप्रकाश श्रेष्ठ, बिष्णु खनाल, राजकुमार कँडेल र राजन कार्की रहेका छन् । एशोसिएट सदस्यतर्फ उत्तम शर्मा ढकाल र नविन्द्र देव सिंह उम्मेदवार रहेका छन् भने वस्तुगत तर्फको सदस्यमा ज्योति रत्न बज्राचार्य रहेका छन् । एशोसियट उपाध्यक्षका उम्मेदवार श्रेष्ठ, वस्तुगत सदस्य ज्योतिरत्न बज्राचार्य र सदिस श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

Exit mobile version