हेटौँडा : श्रम तथा रोजगार कार्यालय हेटौँडा, इलाका प्रहरी कार्यालय मुग्लिङ, बालहेल्पलाइन १०९८ हेटौंडा, तथा इच्छाकामना गाउँपालिकाको संयुक्त टोलीले चितवन जिल्लाको कुरिनटार क्षेत्रका बजारमा बालश्रमको अवस्थाको बारेमा अनुगमन, निरीक्षण भएको छ । श्रम तथा रोजगार कार्यालयमा होटलमा बालश्रम गरिरहेको भन्ने सूचना प्राप्त भएपछि इच्छाकामना गाउँपालिकाका–४ स्थित बन्दिपुर गुरुङ् होटल एण्ड गेष्ट हाउस, एस.एण्ड.पी. होटल, इच्छाकामना होटल एण्ड राना लज, रिजन होटल एण्ड गेष्ट हाउस, लामो झरना होटल जलबिरे लगायतका होटलहरु गरि २ जना बालक र १ जना बालिका सहित ३ जना बालश्रम गरिरहेको अवस्थामा अनुगमन टोलीले उद्दार गरेको हो ।
टोलीले बन्दिपुर गुरुङ् होटल एण्ड गेष्ट हाउसवाट धादिङ जिल्लाका वर्ष १२ का बालक, एस एण्ड पी होटलबाट धादिङ जिल्लाकै वर्ष ११ का बालक र इच्छाकामना होटल एण्ड राना लजबाट चितवन घर भएकी वर्ष १४ को बालिकालाई उद्दार गरी बालहेल्पलाइन १०९८ हेटौंडामा ल्याइएको बालहेल्पलाइनका प्रवन्धक झविन्द्र ज्ञवालीले जानकारी दिए । कुरिनटार केवुलकार एरियामा पर्यटकहरुको बाक्लो आवतजावत हुने हुनाले यस क्षेत्रमा साना ठुला होटलहरु रहेको र केहि होटलहरुमा अझै पनि बालश्रम हुनसक्ने अनुगमनका क्रममा बालश्रम भएका होटल व्यवसायीहरुले बताएका छन् ।
बालश्रम अनुगमन तथा उद्दार कार्य निकै प्रशंसनीय भएको सो कार्यमा आफूहरुको सहयोग र साथ रहने साथै यस कार्यमा गाउँपालिकाको सहजीकरणको अपेक्षा रहेको चितवन होटल एसोशिएसन इच्छाकामना एकाइका अध्यक्ष पुजन भण्डारी, उपाध्याक्ष पुरुषोत्तम पोखरेल लगायत टिमको रहेको बताउनु भयो । करिव २ महिना अगाडि मुग्लिङ बजारमा बालश्रम अनुगमन पश्चात २ वटा होटलबाट ६ जना बालबालिकाहरुको उद्दार गरिएको सो मध्ये एक होटल संचालकलाई कारवाहि भएको र अर्को होटलको संचालकको कानुनी कारवाहिका लागि प्रक्रयामा रहेको साथै अहिले उद्दार गरिएका बालबालिकाहरुको सन्दर्भमा पनि कानुनी कारवाही अगाडि बढाइने श्रम तथा रोजगार कार्यालयका प्रतिनिधि शर्मिला राईले बताउनु भयो ।
अनुगमन तथा उद्दार टोलीमा बालहेल्पलाइन १०९८ का प्रवन्धक एवं प्रदेश बालअधिकार समितिका सदस्य झबिन्द्र ज्ञवाली, श्रम तथा रोजगार कार्यालयका प्रतिनिधि अनित रसाइली र शर्मिला राई, इच्छाकामना गाउँपालिकाकाको प्रतिनिधि नरेन्द्र गुरुङ, बालअधिकारकर्मी राज गोविन्द शिल्पकार र इलाका प्रहरी कार्यालयका प्रहरीहरुको सहभागि रहेको थियो ।
