Home मुख्य समाचार नागरिक सहभागिता बढाउनु पर्नेमा जोड

नागरिक सहभागिता बढाउनु पर्नेमा जोड

अभिमुखीकरणको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : गैरसरकारी संस्था महासंघ मकवानपुरको आयोजनामा आइतबार ‘स्थानीय योजना तथा कानून निर्माण प्रक्रियामा सहभागिता र पैरवी’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी सरोवालाहरुले स्थानीय तहको योजना तर्जुमा तथा कानून निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा महासंघका केन्द्रीय महासचिव देवी खड्काको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा महासंघका बागमती प्रदेश सचिव नरेश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी स्थानीय तथा नागरिक समाजका प्रतिनिधिहरूले सरकारका गतिविधिप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका थिए । सरकारले नागरिकका लागि विभिन्न कार्यक्रमहरू ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको र राजनीतिक दमन बढेको उनीहरूले गुनासो गरेका छन् ।

गैरसरकारी संस्था महासंघ र नागरिक समाजसँग आवश्यक र दक्ष जनशक्ति भएकाले सरकारले नीति निर्माणदेखि योजना तर्जुमासम्मका कार्यमा नागरिक समाजसँग सहकार्य गर्नुपर्ने अध्यक्ष सापकोटाले बताउनुभयो । नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता सहभागीहरुले औँल्याएका छन् । कार्यक्रममा गैसस महासंघका केन्द्रीय उपमहासचिव किरण थापा, निजी क्षेत्रका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी लगायत नागरिक समाजका अगुवाहरुको सहभागिता थियो ।

Exit mobile version