हेटौँडा : बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आव्हान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको अधिवेशन आव्हान गर्नुभएको हो ।
प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाको सत्रौं अधिवेशन भोलि चैत्र २४ गते मंगलबार दिउँसो ४ बजेका लागि आव्हान गर्नुभएको हो । प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य भएको ५ महिनापछि सरकारले हिउँदे अधिवेशन आव्हान गरेको हो । गत मंसिर ३ मा प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाको चालु वर्षे अधिवेशन अन्त्य गर्नुभएको थियो । जेनजी आन्दोलन र विपद्का कारण सरकारले प्रदेशसभा बैठक बोलाउन नसक्दा विगत ८ महिना प्रदेशसभा बैठक बस्न सकेको थिएन । गत साउन २७ मा प्रदेशसभाको अन्तिम बैठक बसेको थियो ।
त्यस लगत्तै भएको जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, सभाहल सहितका प्रदेशका विभिन्न संरचना जलेपछि बैठक संचालन अन्योल बनेको थियो । जेनजी आन्दोलन कै बीचमा प्रदेशसभाका तत्कालिन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा घोषणा गर्नुभएको थियो । उहाँले असोज १ गते प्रदेशसभामा लिखित राजीनामा पेश गर्नुभएको थियो । बैठक संचालन नगरी मंसिर ३ मा प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयपछि प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले सार्वजनिक सूचना जारी गर्दै सभामुखको राजीनामा बारे प्रदेश सभा सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।











