Home मुख्य समाचार १७५ जनामा मोतियाविन्दु भेटियो

१७५ जनामा मोतियाविन्दु भेटियो

शिविरमा आँखा जाँच गरिँदै ।

हेटौँडा : रोटरी क्लब अफ हेटौँडाको आयोजनामा भएको आँखा शिविरमा १७५ जना मोतियाविन्दुका बिरामी भेटिएका छन् । बुधबार, बिहीबार र शनिबार रौतहट, बारा, पर्सा र महोत्तरी जिल्लाका विभिन्न स्थानमा आयोजना भएको शिविरमा ८१५ जनाको आँखा परीक्षण गरिएकोमा १७५ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भेटिएको रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।

शनिबार बर्दिबासको प्रेमनगर र बिजुलपुरामा भएको परीक्षणमा ६२ जनामा मोतियाविन्दु भेटिएको हो । दुई स्थानमा गरी ३३० जनाको आँखा परीक्षण गरिएको थियो । बर्दिबासको प्रेमनगरमा २२० जनाको परीक्षण गरिएकोमा २७ जनामा मोतियाविन्दु भेटिएको थियो भने बिजुलपुरामा ११० जनाको आँखा परीक्षण गर्दा ३५ जनामा मोतियाविन्दु भेटिएको हो । बुधबार, बिहीबार र शनिबार रौतहट, बारा, पर्सा र महोत्तरी जिल्लाका विभिन्न स्थानमा आयोजना भएको शिविर ४८५ जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा ११३ जनामा मोतियाविन्दु भेटिएको रोटरी क्लबका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो । बुधबार रौतहटको कटरियामा भएको शिविरमा १२९ जनाको आँखा परीक्षण गरिएकोमा ४९ जनामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्नेको भेटिएको हो ।

बिहीबार पर्साको जगरनाथपुरमा ११९ जनाको आँखा परीक्षण गरेकोमा १९ जनामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएको छ । यस्तै बिहिबार नै बाराको कलैयामा २३७ जनाको आँखा परीक्षण गरेकोमा ४५ जनामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएको छ । शिविरमा भेटिने मोतियाविन्दुका बिरामीहरूको आज आइतबार र भोलि सोमबार हेटौँडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया हुनेछ । शिविर अवधिभर बिरामीहरूलाई खान, बस्न तथा आवतजावतको सम्पूर्ण सुविधा निःशुल्क प्रदान गरिने क्लबका अध्यक्ष प्रधानले जानकारी दिनुभयो । जाँच पश्चात फेला परेका सबै मोतियाविन्दुका बिरामीहरूको शल्यक्रिया गरिने उहाँको भनाइ छ ।

स्थानीयस्तरमा नियमित रूपमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको रोटरी क्लब अफ हेटौंडाको यस पहलले ग्रामीण क्षेत्रका आँखाका बिरामीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको उहाँको भनाई छ । शिविरमा आँखा जाँचदेखि शल्यक्रियासम्मको काम हेटौँडा सामुदायिक आँखा अस्पतालका चिकित्सकहरुले गर्नेछन् ।

Exit mobile version