Home अर्थ/व्यापार फलफूल तथा तरकारी व्यवसायी संघमा सापकोटा

फलफूल तथा तरकारी व्यवसायी संघमा सापकोटा

हेटौँडा : नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ बागमती प्रदेशको प्रथम भेला शुक्रबार हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भारत प्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको थियो ।

भेलाले बागमती प्रदेशको नेतृत्वका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । भेलाबाट काशीराम सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको सचिवमा छत्र बहादुर थिङ चयन हुनुभएको छ । नवनियुक्त नेतृत्वले प्रदेशभित्रको कृषि बजारलाई व्यवस्थित बनाउन र व्यवसायीका समस्या समाधान गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवनिर्वाचित समितिको शनिबार बसेको विस्तारित बैठकले केरा व्यवसायमा देखिएका जटिलताका बारेमा गम्भीर छलफल गरेको छ । बैठकले सरकारले केरा आयातमा लगाएको रोक र त्यसका कारण भइरहेको अवैध ढुवानीलाई पूर्णरूपमा नियन्त्रण गर्न माग गर्ने निर्णय गरेको छ । वैध रूपमा हुने केरा ढुवानीमा देखिएका कानुनी र व्यावहारिक अड्चनहरूलाई हटाई सहज वातावरण बनाउन सरकारसँग गम्भीरतापूर्वक छलफल गर्ने र रोकिएका प्रक्रियाहरू खुलाउन अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

कार्यक्रममा बोल्दै महासंघका सचिव कृष्ण हुमागाईंले कृषिजन्य वस्तुको बजार र व्यवसायमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभयो । उहाँले वर्तमान समयमा कृषि व्यवसायलाई सम्मानित र मर्यादित बनाउनका लागि सरकारले समयसापेक्ष नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । व्यवसायीहरूले आफ्नै उत्पादनलाई प्राथमिकता दिँदै बजारको माग र आपूर्ति बीचको सन्तुलन मिलाउन र अवैध कारोबारलाई निरुत्साहित गर्न सबै एकजुट हुनुपर्नेमा भेलाले जोड दिएको छ ।

Exit mobile version