हेटौँडा : छुट्टाछुट्टै सवारी दुर्घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । चितवन, धादिङ र नुवाकोट जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार अपरान्ह १ बजेर ४५ मिनेटको समयमा धादिङको गंगाजमुना गाउँपालिका–५, दाङसिंहमा भीरबाट लडेर ४२ वर्षीय प्रदीप लामाको मृत्यु भएको छ । सधै मादक पदार्थ सेवन गर्ने लामा ४ महिनादेखि लेबर काम गर्दैै आएका थिए । चितवनको भरतपुर महानगरपालिका–३, नगरवन मार्गमा बसको ठक्करबाट भारतको अमरावती जिल्लाको अन्जनगाउका १० वर्षीय इरेस घोस्लेको मृत्यु भएको छ । बा प्र ०६००१ ख ०४९२ नम्बरको बस सहचालकले पार्किङका लागि व्याक गर्ने क्रममा सडकछेउमा बेवारिसे अवस्थामा बसेका घोस्लेलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका घोस्लेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । घोस्लेको उपचारको क्रममा शनिबार राति ११ बजेर २५ मिनेटको समयमा घोस्लेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस र सहचालक नवलपुरको कावासोती नगरपालिका–१ का २५ वर्षीय प्रेम बहादुर नेपाली प्रहरीको नियन्त्रणमा रहेको छ ।
यस्तै, नुवाकोटको बिदुर नगरपालिका–२ मा भित्रि सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भैरबीबाट खानिगाउँतर्फ आफ्नै घर फर्किने क्रममा प्र ३ ०२ ००७ प ९७३३ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक लिखु गाउँपालिका–१, खानीगाउँका ३५ वर्षीय इन्द्रबहादुर थापा मगर गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि त्रिशुली अस्पताल नुवाकोट पुर्याउँदा डाक्टरले मृत्त घोषणा गरेको प्रहरीले उल्लेख गरेको छ ।











