Home खेलकुद प्रधानमन्त्री कप क्रिकेटएपीएफ क्लब १० विकेटले विजयी

प्रधानमन्त्री कप क्रिकेटएपीएफ क्लब १० विकेटले विजयी

प्लेयर अफ द म्याच एपीएफका अभिषेक गौतमलाई ट्रफी प्रदान गरिँदै ।

हेटौँडा: पुरुष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत विभागीय टोली नेपाल एपीएफ क्लबले शानदार जित दर्ता गरेको छ । जारी प्रतियोगितामा शनिबार भएको खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको हो ।

शनिबार जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर व्याटिङ रोजेको कर्णालीले एपीएफलाई १०८ रनको सामान्य लक्ष्य दिएको थियो । कर्णाली प्रदेश ३६ ओभरमा १०७ रनमा अलआउट भएको थियो । कर्णालीका अर्जुन घर्ती मगरले अविजित ३८ रन बनाउँदा दिपेन्द्र रावतले २५ रन बनाएर आउट भएका थिए । कर्णालीका अन्य व्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । एपीएफ क्लबका कमल सिंह ऐरी र अभिषेक गौतमले समान ४/४ विकेट लिएका थिए । जवाफी व्याटिङमा उत्रिएको एपीएफ क्लबले कुनै पनि विकेट नगुमाई लक्ष्य भेटायो । एपीएफ क्लब १२ ओभरमै लक्ष्य भेटाउन सफल भएको हो । एपीएफका आशिफ शेखले ६५ रन र दीपक बोहराले ४२ रन बनाएर अविजित रहे । प्लेयर अफ द म्याच एपीएफका अभिषेक गौतम घोषित भए ।

यस्तै, शनिबार वीरगन्जमा भएको अर्को खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । वीरगन्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको छ । टस जितेर सुरुमा व्याटिङ गरेका गण्डकीले कोशी सामु २२८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२७ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले अविजित १०२ रन बनाउँदा कप्तान विपिन खत्रीले ७६ रन बनाएर आउट भएका थिए । कोशीका दिपेश कँडेलले ४ विकेट लिए । गण्डकीका अर्जुन कुमाल प्लेयर अफ द म्याच घोषित भए ।

लक्ष्य पछ्याएको कोशी प्रदेश १८८ रनमै रोकियो । कोशी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन मात्रै बनाउन सक्यो । कोशीका लागि उत्कृष्ट बलिङ गरेका कँडेलले अविजित ५२ रन बनाए भने आशिष राना मगर ३० रन बनाएर आउट भए । गण्डकीका किब्रिन श्रेष्ठले ३ विकेट, अप्रजित पौडेल र सुवास भण्डारीले समान २/२ विकेट लिएका । जारी प्रतियोगितामा हालसम्म ६ वटा खेल खेलिसक्दा एउटा पनि जित निकाल्न नसक्ने कोशी एक्लो टोली बनेको छ ।

Exit mobile version