हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् । शुक्रबार र शनिबार थाहा नगरपालिका, मनहरी र हेटौँडामा भएको घटनामा ५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९, खरंगा क्षेत्रमा स्कार्पियो गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार राती ८ बजेर १५ मिनेटको समयमा चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा १५ च ६०३५ नम्बरको स्कार्पियो अत्यधिक गतिका कारण अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक हेटौँडा–१९, बस्तिपुरका ४० वर्षीया झलक बर्तौला र सोही गाडीमा सवार ३० वर्षीय बद्री ढकाल घाइते भएका छन् । घाइते दुबै जनाको हेटौँडास्थित सन्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२, टिष्टुङमा ट्रक दुर्घटना भएको छ । शनिबार बिहानको समयमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ख १७५० नम्बरको खाली १२ चक्के ट्रक अगाडिको दाहिने साइडको पट्टा भाँचिएपछि अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक धादिङ जिल्लाको बेनिघाटरोराङ गाउँपालिका–२, मौवाखोलाका २७ वर्षीय ध्रुव घले हाम फाल्दा दाहिने खुट्टाको पौतालामा सामान्य चोट लागेको छ । उनलाई उपचारका लागि पालुङ अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
हेटौँडा–९, सिमेन्टरोडमा दुई ट्रक ठोक्किँदा एक जना घाइते भएका छन् । शनिबार बिहानको समयमा भित्री सडक खण्डमा वनस्पतिबाट गुम्बाचोकतर्फ आउँदै गरेको ना ६ ख ४८०८ नम्बरको चामल लोड ट्रकले सडक छेउमा पार्किङ गरी राखिएको ना ६ ख १३०२ नम्बरको खाली ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ना ६ ख १३०२ नं.को ट्रक चालक सिमेन्टरोडका ३८ वर्षीय रामसुन्दर अधिकारी र ना ६ ख ४८०८ नम्बरको ट्रक चालक हेटौँडा–१२ का २७ वर्षीय बिष्णु नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना हुँदा ४८०८ नम्बरको सह–चालकले ट्रक चलाइरहेको खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
