Home मुख्य समाचार धादिङमा यात्रुको मृत्यु, नुवाकोटमा डुबेर बालिकाको मृत्यु

धादिङमा यात्रुको मृत्यु, नुवाकोटमा डुबेर बालिकाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेश धादिङ र नुवाकोटमा दुई जनाको मृत्यु भएको छ । शुक्रबार धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा उपचारको क्रममा एक भारतीय महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको चेन्नई नजिक कोयम्बटूर (कोइमुटुर) की ६० वर्षीया विजय लक्ष्मी रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान ९ बजेको समयमा काठमाडौंबाट गोरखपुर जाँदै गरेको युपि ६५ इटि ६९६२ नम्बरको भारतीय बसमा सवार उनी अचानक चक्कर आएर बेहोस भएकी थिइन् । उनलाई मलेखुस्थित अस्पतालमा उपचारका लागि लगिएकोमा बिहान ९ बजेर १० मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै नुवाकोटको तादी गाउँपालिका–५, डोटेलबेशीमा एक बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षीया वर्षा राई रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार साँझ ५ बजेर ३० मिनेटको समयमा ढिकुरे–गोल्फुभन्ज्याङ कच्ची सडक निर्माणका लागि पानी जमाउन खनिएको पोखरीमा डुबेको अवस्थामा फेला परेकी थिइन् । उनलाई उद्दार गरी खरानीटार अस्पताल लगिएको उपचारका क्रममा साँझ ६ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version