सहकारी दिवसको अवसरमा सहभागीहरुको तस्वीर ।

हेटौँडा : ‘उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ देशभरका सहकारी संस्थाहरुले ६९औं राष्ट्रिय सहकारी दिवस मनाएका छन् । यसैगरी मकवानपुरमा पनि सहकारीहरुले विविध कार्यक्रमसहित शुक्रबार हेटौँडामा ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाएका छन् । वि.सं. २०१३ चैत २० गते चितवनकोे बखानपुर ऋण सहकारी संस्था स्थापना भएको सम्झनामा प्रत्येक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।

शुक्रबार बिहान सहकारीहरुले हेटौँडाको हुप्रचौरबाट प्रभातफेरी सुरु गरी सहकारी दिवस समारोह स्थल हिमालयन दरबार पुगेको थियो । ६९ औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा भएको सहकारी दिवस समारोहमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री बानियाँले बिपि कोइरालाले नेपालमा सहकारीको क्रान्ति अगाडि बढाएको स्मरण गर्नुभयो । केही निजी स्वार्थका सहकारीहरुका कारण आज सहकारीको अस्तित्व खतरामा परेको तथा सहकारीप्रतिको विश्वसनीयता घटेको औँल्याउनुभयो । समुदायमा आधारित सहकारीसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न प्रदेश सरकार तयार रहेको उहाँको भनाइ छ । यसैगरी प्रदेश सरकार बिना धितो र बिना ब्याजमा ऋण लगानी गर्ने व्यवस्था मिलाउन र नीति बनाउने अवस्थामा रहेको बताउनुभयो । साथै निजी स्वार्थका लागि खोलिएका खराब मनसायका सहकारीहरुलाई करवाही गरी बचतकर्ताको लगानी फिर्ता गराउने प्रतिबद्धता समेत व्यक्त गनुभयो ।

र्‍यालीमा सहभागीहरुको तस्वीर ।

मकवानपुरमा राष्ट्रिय सहकारी दिवस मनाउनका लागि मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो । समितिले मकवानपुर जिल्ला सहकारी संघ लगायत जिल्लास्थित विषयगत सहकारी संघहरुको सहकार्य र बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा चैत १४ गतेदेखि २० गतेसम्म विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरेको थियो । समितिले बुधबार हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रम र बिहिबार ‘सहकारी संरक्षण र सम्वद्र्धनमा अभियान र नियामकीय भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको थियो ।

शुक्रबार आयोजना गरिएको प्रभातफेरीमा प्रदर्शन र व्यवस्थानका आधारमा उत्कृष्ट ८ वटा सहकारी संस्था नगदसहित सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा हेटौँडा–१३ का महिला मिलन बचत तथा ऋण सहकारी संस्था प्रथम, हेटौँडा–१८ का साना किसान सहकारी द्वितीय र हेटौँडा–१६ हटियाका साना किसान सहकारी तृतीय स्थान हासिल गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुने सहकारीहरुले क्रमशः १० हजार, ७ हजार र ४ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी हेटौँडाका हातेमालो बचत तथा ऋण सहकारी संस्था, बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था, बसामाडीको साना किसान सहकारी, मकवानपुरगढीका साना किसान कृषि सहकारी संस्था र हेटौँडा बचत तथा ऋण सहकारी संस्थाले सन्त्वना स्थान हासिल गरेका छन् । सन्त्वना स्थान हासिल गर्ने सहकारीहरुले समान ३÷३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।