हेटौँडा : बागमती प्रदेशसभा बैठक आव्हान गर्ने तयारी गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बस्न नसकेको बैठक ९ महिनापछि आव्हानको तयारीमा सरकार जुटेको हो । प्रदेश सरकाले केही दिनमा नै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश सभाको हिउँदे अधिवेशन बैठक बोलाउने तयारी गरेको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई एक साताभित्र बैठक बोलाउन कांग्रेस संसदीय दलले निर्णय गरेर आग्रह गरेको थियो भने सत्ता साझेदार दल एमालेले पनि निरन्तर रुपमा दवाव बढाउँदै आएको थियो ।
गत साउन २७ मा बसेको प्रदेशसभाको बैठक त्यसयता बस्न सकेको छैन । मन्त्रिपरिषद्का एक सदस्यका अनुसार आउँदो एक साता भित्रै बैठक चलाउने गरी सरकारले अधिवेशन आह्वानको तयारी गरेको छ । सम्भवत् १/२ दिन भित्रमा नै क्याविनेट बसेर प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान हुने उनले बताए । गत मांसिर ३ मा प्रदेश सरकारले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । प्रदेश सभा बैठक आह्वान हुने भएसँगै प्रदेशसभा सचिवालयले व्यवस्थापनको काम थालेको छ । सचिवालयले जलेर ध्वस्त बनेको सभाहल मर्मत गर्न नमिल्ने भएपछि वैकल्पिक रुपमा हेटौंडा उपमहानगरपालिका पछाडी रहेको मुख्यमन्त्री सभाहलमा प्रदेश सभा सदस्य बैठक सञ्चालन गर्ने व्यवस्था गरेको छ । आन्दोलनको क्रममा क्षति व्यहोरेको उक्त हलमा पनि सामान्य मर्मत गरेर बैठक बस्ने तयारी गरिएको हो । सभा संचालनका लागि उक्त सभाहलमा सामान्य प्रकृतिको सचिवालय व्यवस्थापन गरिएको छ भने केही कुर्सी टेबल खरिद गरेर व्यवस्थापन गरिएको छ ।
बागमती प्रदेशसभाको आगामी बैठक आह्वानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उपसभामुख अप्सरा चापागाईले बताइन् । सरकारले प्रदेश समा अधिवेशन आह्वानको तयारी गरिरहेको र सम्भवतः केही दिनमा बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने उनले बताइन् । उपसभामुख चापागाईका अनुसार मुख्यमन्त्रीले अनौपचारिक रुपमा सबै प्रक्रिया तयार राख्न निर्देशन दिइसकेकाले प्रदेशसभा सचिवालयले आन्तरिक तयारीलाई तीव्रता दिएको छ । जेनजी आन्दोलन र केही समयअघिको हावाहुरीले पु¥याएको क्षतिलाई समेत मर्मत गरेर वैकल्पिक रुपमा हलको व्यवस्थापन गरिएको उनले बताएन् ।
हाललाई अस्थायी रूपमा नगरपालिकाको हलमा बैठक सञ्चालन गर्ने तयारी गरिएको उनले बताइन् । जेनजी आन्दोलनमा आगलागीका कारण प्रदेश सभाका सम्पूर्ण भौतिक सामग्री नष्ट भएकाले निकै कष्टपूर्ण ढंगले व्यवस्थापन गरिएको उनको भनाई छ ।
‘प्रदेश सभाको नयाँ हल त सबै जल्यो । केही बाँकी थिएन । सचिवालय भवन बस्न योग्य नै रहेन । सचिवालयको पछाडीको भवनलाई मर्मत गरेर व्यवस्थापन गरेका छौं । सभा हलका लागि जलेर क्षति पुगेको मुख्यमन्त्री सभा हलमा व्यवस्थापन गर्ने काम भएको छ । हाललाई बाहिर फालिएका र नजलेका केही कुर्सी–टेबलहरुलाई सरसफाइ र पोलिस गरेर बस्न योग्य बनाएका छौँ’, उनले भनिन्, ‘अहिले सबै टेबलमा माइक राख्ने अवस्था छैन । ४–५ वटा वायरलेस माइकहरुबाटै काम चलाउने गरी प्राविधिक टिमले तयारी गरिरहेको छ । पुरानै प्राविधिक टोलीको सहयोगमा रेकर्डिङ र अन्य व्यवस्थापनलाई अगाडि बढाइने गरी व्यवस्थापन गरिएको छ ।’
नयाँ बजेट प्राप्त गर्न प्रक्रियागत कठिनाइ भएपछि अर्थ मन्त्रालयमार्फत केही रकम रकमान्तर गरी सचिवालयका लागि आवश्यक ४÷५ लाख बराबरको नयाँ फर्निचर खरिद गरिएको उनले बताइन् । हाउस सञ्चालनका लागि करिब ३÷४ लाख रुपैयाँको लागतमा कारखानाबाटै सस्तो खालका फर्निचरहरु तयार पारिएको उनको भनाई छ । स्थायी संरचना नबनेसम्म राज्यको खर्च कम गर्ने उद्देश्यले न्यूनतम खर्चमा काम चलाउन खोजिएको उपसभामुख चापागाईंले बताइन् । उनका अनुसार नयाँ सिराबाट काम सुरु गर्नुपर्ने भएकाले अभिलेख व्यवस्थापनमा केही चुनौती भयो । हाल आर्काइभमा भएका सामग्रीहरुको पुनः संकलन र लिपिबद्ध गर्ने काम भइरहेको र सचिवालयमा सानो पुस्तकालय (लाइब्रेरी) स्थापना गर्ने कार्य पनि सुरु गरिएको उनले बताइन् ।
जेनजी आन्दोलनसँगै बागमती प्रदेशसभामा सभामुख पद रिक्त रहेको छ । जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालबाट तत्कालिन सभामुख भुवन कुमार पाठकले राजीनामा घोषणा गरेका थिए भने असोज १ मा लिखित राजीनामा पठाएका थिए । उनको उक्त राजीनामा प्रदेश सभा बस्न नसकेपछि मंसिर ४ मा सदस्यहरुको जानकारीका लागि सूचना जारी गरिएको थियो । सभामुख पद रिक्त रहेको अवस्थामा आगामी प्रदेश सभा बैठकले सभामुखको निर्वाचन गर्नुपर्ने दायित्व देखिएको छ । सभामुख पद रिक्त रहेको अवस्थामा संसद बैठक बसेको १५ दिन भित्र निर्वाचन प्रक्रिया मार्फत् सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार आगामी बैठक संचालन भएको १५ दिनमा सभामुखको निर्वाचन गर्नुपर्ने जिम्मेवारी संसद सचिवालयमा रहेको छ । सो अवस्थाका बीच दलहरुले औपचारिक रुपमा सभामुख नियुक्तिका बारेमा छलफल समेत थालेका छैनन् । रिक्त एक सभामुख पदमा सत्तारुढ दल कांग्रेस र एमाले दुवैले दावी कसेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा पनि सभामुख पदमा दावी पेश गर्दै आएको छ ।











