हेटौँडा : नागरिकको मौलिक हकको रुपमा परिभाषित सूचनाको अधिकारीलाई प्रभावकारी कार्यान्वयन गर्न एक समूहले यातायात कार्यालय हेटौँडालाई ध्यानकार्षण गराएका छन् । बिहीबार ‘सेवा सहयोग र आवाजमा हामी’ संस्थाका अध्यक्ष विशाल राज महतका समूहले यातायात कार्यालयलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उनीहरुले विशेषगरी सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) को पारदर्शितामाथि प्रश्न उठाएका छन् । यातायात कार्यालयले ड्राइभिङ लाइसेन्स प्राप्तिका लागि ट्रायल परीक्षण स्थलमा राखिएका सीसी क्यामराका फुटेज कर्मचारीले मात्र हेर्न पाउने र फेल/पासभएको फुटेज हेर्न शुल्क तिनुपर्ने प्रावधानले अनियमितता बढाएको भन्दै सीसी क्यामराको लाइभ सेवाग्रहीले हेर्न पाउने व्यवस्था मिलाउन माग गरेका छन् । यसले नेपालको संविधानको धारा २७ मा उल्लेखित प्रत्येक निकायले सार्वजनिक निकायसँग सम्बन्धीत सूचना प्राप्त गर्ने मौलिक हकको उल्लंघन गरेको उनीहरुले आरोप लगाएका छन् ।
यसैगरी ट्रायल परीक्षणमा आफ्नो सवारी प्रयोग गर्न नदिने प्रावधान न्यायोचित नभएको बताएका छन् । ‘सेवाग्राही आफ्नै साधनमा अभ्यस्त हुँदा परीक्षण् वास्तविक हुन्छ भन्दै’ यो प्रावधान टुरुन्त हटाई आफ्नो सवारी साधन प्रयोग गर्ने व्यवस्था माग गरेका छन् । साथै फुटेज हेर्न शुल्क नलाग्ने र कार्यालयले नै टिकट घरको व्यवस्था गरी निवेदन स्वयम दिन सकिने वातावरण बनाउन अनुरोध गरेको छ । मागहरु सम्बोधन नभए थप सङघर्षको कार्य गर्ने चेतावनी समेत दिएका छन् ।
