बिहीबारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । एसईईमा यसपटक भने केही विशेष र भिन्न देखिएको छ । परीक्षा सुरु भएसँगै विद्यार्थी, शिक्षक र अभिभावकहरूमा विगतको तुलनामा छुट्टै उत्साह देखिएको छ । यसको मुख्य कारण हो सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी दिएको निर्देशन । सरकारको यो तदारुकताले शैक्षिक क्यालेन्डरलाई व्यवस्थित बनाउने संकेत गरेको छ, जसको चौतर्फी स्वागत भइरहेको छ ।
नतिजा छिटो सार्वजनिक गर्ने उद्देश्यले यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच्ने व्यवस्था मिलाइएको छ । विगतमा नतिजाका लागि तीन महिनासम्म कुर्नुपर्दा विद्यार्थीहरूको कक्षा–११ को पढाइ प्रभावित हुने गरेको थियो । साउनमा भर्ना भएर वैशाखमा परीक्षा दिनुपर्दा विद्यार्थीले मुस्किलले ८ देखि ९ महिना मात्र पढ्न पाउँथे । अब नतिजा छिटो आउँदा विद्यार्थीले समयमै भर्ना भई पूरा शैक्षिक सत्र अध्ययन गर्न पाउने छन् । यसले माध्यमिक तहको भर्ना दर बढाउन र विद्यार्थीलाई पढाइप्रति निरन्तर सक्रिय राख्न मद्दत पुग्ने देखिन्छ । समयको बचत हुनु र शैक्षिक सत्र नियमित हुनु यसको सबैभन्दा सवल पक्ष हो ।
तर, छिटो नतिजा निकाल्ने दबाव र परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने कार्यले गम्भीर प्रश्नहरू पनि जन्माएको छ । परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच्दा त्यसको निष्पक्षता र गुणस्तर कायम रहला त ? यो अहिलेको मुख्य चुनौति हो । आफ्नै वा नजिकैको विद्यालयका शिक्षकले उत्तरपुस्तिका जाँच्दा व्यक्तिगत चिनजान, दबाव, प्रभाव वा भनसुनका आधारमा अंक दिइने जोखिम पनि देखिन्छ । यसले गर्दा मिहिनेती विद्यार्थी मारमा पर्न सक्छन् र परीक्षाको गरिमामै आँच पुग्न सक्छ ।
अर्कोतर्फ यो व्यवस्थाले केन्द्राध्यक्ष र परीक्षक शिक्षकहरूको सुरक्षामा पनि चुनौति थपेको छ । अनुत्तीर्ण हुने वा कम अंक आउने डरले विद्यार्थी वा अभिभावकले शिक्षकलाई धाकधम्की दिने, रिसइबी साँध्ने वा अनावश्यक दबाव दिने सम्भावनालाई नकार्न सकिँदैन । यसले शैक्षिक वातावरणमा सामाजिक अपराध र असुरक्षा निम्त्याउन सक्छ । साथै, प्राविधिक धारतर्फ लाग्न चाहने विद्यार्थीहरूका लागि पनि यो निर्णय अलि हतारो हुन सक्छ । ब्रिज कोर्ष वा प्रवेश परीक्षाको तयारीका लागि उनीहरूले पर्याप्त समय नपाउँदा माथिल्लो तहको पढाइमा उनीहरूलाई थप भार पर्न सक्छ ।
सरकार र सम्बन्धित निकायले नतिजाको ‘गति’ सँगै ‘गुणस्तर’ र ‘गोपनीयता’ मा पनि उत्तिकै ध्यान दिनु जरुरी छ । उत्तरपुस्तिका परीक्षणलाई विश्वसनीय बनाउन कम्तीमा पनि एक जिल्लाको उत्तरपुस्तिका अर्को जिल्लामा लगेर जाँच्न व्यवस्था मिलाउनु उपयुक्त हुन्छ । यसो गर्दा शिक्षकहरू सुरक्षित हुनेछन् र नतिजाको निष्पक्षतामा प्रश्न उठ्ने ठाउँ रहने छैन । प्राविधिक विषय पढ्ने विद्यार्थीका हकमा पनि वैकल्पिक व्यवस्था वा तयारीको समयबारे सोच्न आवश्यक छ । शैक्षिक सुधारको यो प्रयास सराहनीय हुँदाहुँदै पनि यसले निम्त्याउन सक्ने जोखिमप्रति समयमै सचेत भई समाधान खोज्नु नै आजको आवश्यकता हो ।
