Home मुख्य समाचार भोलि र पर्सी स्वतन्त्र पत्रकार संघको पाँचौं अधिवेशन गैँडाकोटमा

भोलि र पर्सी स्वतन्त्र पत्रकार संघको पाँचौं अधिवेशन गैँडाकोटमा

हेटौँडा : स्वतन्त्र पत्रकार संघ नेपालको चौधौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन नवलपुर जिल्लाको गैँडाकोटमा भोलि शुक्रबारबाट सुरु हुँदैछ । पर्सी शनिबारसम्म हुने अधिवेशनले स्वतन्त्र पत्रकार संघको नयाँ नेतृत्व चयन गर्नेछ । नेपाल पत्रकार महासंघमा राजनीतिक दलसम्वद्ध पत्रकार संगठनको सिन्डिकेटको विरोध गर्दै २०६८ सालमा स्थापना भएको स्वतन्त्र पत्रकार संघ ३५ जिल्लामा विस्तार भएको छ ।

गैँडाकोटस्थित मौलाकालिका मन्दिर नजिकै भण्डारी समाजको सभाहलमा हुने अधिवेशनका क्रममा जिल्ला अध्यक्षहरुलाई सम्मान गर्नुका साथै २५ हजार राशीको सामाजिक पत्रकारिता पुरस्कार पोखराका अग्रज पत्रकार उदयबहादुर अमात्यलाई प्रदान गरिनेछ । अधिवेशनको पूर्वसन्ध्यामा स्वतन्त्र पत्रकार संघ नेपालले जिल्ला अध्यक्षहरुबीच अन्तरक्रिया समेत आयोजना गरेको छ । अन्तरक्रियामा सहभागी जिल्ला अध्यक्षहरुले केन्द्रीय समितिलाई सशक्त बनाउन र जिल्लालाई पर्याप्त साथ, सहयोग गर्न आग्रह गरेका छन् । जिल्ला अध्यक्षहरुले अधिवेशनबाट नयाँ नेतृत्व चयनमा ध्यान दिँदै आगामी केन्द्रीय समितिले जिल्ला समितिहरुलाई सशक्त बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

कास्की जिल्लाका अध्यक्ष डीआर काफ्लेले पछिल्लो समय दलीय पत्रकारको दलीय आवद्धताप्रति आमरुपमा आलोचना भइरहँदा स्वतन्त्र पत्रकार संघले आफ्नो भूमिकालाई फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले स्वतन्त्र पत्रकार संघको केन्द्रीय समितिदेखि जिल्ला समितिसम्म सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । स्वतन्त्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष प्रेमबहादुर बुढाथोकीले स्वतन्त्र पत्रकार संघको इतिहास हेर्दा उल्लेखनीय सुधार हुन नसके पनि आगामी दिनमा योजनावद्ध ढंगबाट अगाडि बढ्नुपर्ने औँल्याउनुभयो । रुपन्देही शाखाले बनाएका योजनाहरु कार्यान्वयन गरेर केन्द्रीय समितिलाई राम्रो काम भएको प्रतिवेदन बुझाउने बताउनुभयो ।

अन्तरक्रियामा मकवानपुर जिल्ला अध्यक्ष राजन घिमिरे अनुरागले जिल्लामा पत्रकारको पारिश्रमिकका लागि पैरवी गर्नुपरेको, पत्रकारको हकहित र सुरक्षाका लागि निरन्तर क्रियाशील रहँदै आएको बताउनुभयो । पत्रकारको हकहितका लागि स्वतन्त्र पत्रकार संघले अझ सशक्त भएर काम गर्नुपर्ने र त्यसमा केन्द्रीय समितिको साथ र सहयोगको अपेक्षा जिल्लाले गरेको उहाँको भनाइ थियो । काठमाडौं जिल्ला अध्यक्ष कृष्णराज तिमल्सिनाले स्वतन्त्र पत्रकार संघले व्यावसायिक पत्रकारिताको अभ्यासमा जोड दिनुपर्ने बताउनुभयो । अर्घाखाँची जिल्ला अध्यक्ष गुरुदेव खनालले स्वतन्त्र पत्रकार संघ कमजोर अवस्थामा रहेको र अधिवेशनबाट नयाँ उर्जा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । अधिवेशनको अवसरमा स्वतन्त्र पत्रकार संघले स्वतन्त्र सन्देश स्मारिका पनि विमोचन गर्दैछ ।

Exit mobile version