हेटौँडा : विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट खटिएका प्रहरी टोलीले खोजतलासको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा बैकिङ कसुर अन्तर्गत हेटौँडा–५ का ४७ बर्षीय सुरेन्द्रलाल श्रेष्ठ, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थाहा–११, टिस्टुङका ७२ वर्षीय मान बहादुर थोकर पक्राउ परेका छन् । यस्तै चेक अनादर अन्तर्गत हेटौँडा–१३ का ४८ वर्षीय विकास वाईबा, हेटौंडा–९ का बासुराम भण्डारी, हेटौँडा–९ की कोपिला अधिकारी, थाहा नगरपालिका–१ गहतेका ३७ वर्षीय मोहन गोपाली र हेटौंडा–४ का ४८ वर्षीय सरोज लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभएको छ ।
जिल्ला अदालत मकवानपुरबाट विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिए पश्चात फरार रहेकोमा पक्राउ गरी आवश्यक कारबाहीका लागि ६ जना प्रतिवादीहरुलाई मकवानपुर जिल्ला अदालत तथा १ जनालाई नेपाल प्रहरीको अनाश्रित गुल्म १ काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।











