हेटौँडा : हेटौँडामा महिलामैत्री पार्क बन्दैछ । हेटौँडा–८ मा रहेको चिल्ड्रेन पार्क क्षेत्रमा महिलामैत्री पार्क निर्माण हुन लागेको वडाध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिकाको स्वामित्वमा रहेको ११ कठ्ठा जग्गामा पार्क निर्माण हुँदैछ । सोमबार नगरप्रमुख मिना कुमारी लामाले पार्कको शिलान्यास गर्नुभयो ।
२०८३ असोजसम्ममा निर्माण सक्नेगरी पार्क निर्माणका लागि ३ करोड ५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । वडाध्यक्ष थापाका अनुसार हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युएनओपिएस) को ७० प्रतिशत लगानीमा पार्क निर्माण हुँदैछ । महिलाहरुको सुरक्षित, सम्मानजनक र सशक्त सभागितालाई प्रवद्र्धन गर्ने उद्देश्यले महिलामैत्री पार्क निर्माण गर्न लागिएको वडाध्यक्ष थापाले बताउनुभयो । महिलामैत्री पार्कमा महिलाहरुका लागि विश्राम, मनोरञ्जन तथा सामुदायिक गतिविधि केन्द्रका रुपमा विकास हुने विश्वास लिइएको छ ।
