हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–९, गुम्बाचोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेर २५ मिनेटको समयमा हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा ७६८३ नम्बरको मोटरसाइकलको पछाडि सवार हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत हेटौँडा–९, एचआइडीकी १८ वर्षीया एकता बैद्य सोहि दिशा नवलपरासिबाट सिमेन्ट लोड गरी बिरगंज तर्फ जादै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा ठोक्किँदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा दिउँसो १२ बजेर २० मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौँडा–४, कर्राका १९ वर्षीय रोनिक कार्कीको दुबै खुट्टामा सामान्य चोट लागेको छ भने ९३५४ नम्बर मोटरसाइकल चालक चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–५, बदेलटारका २१ वर्षीय पुष्पलाल गुरुङ मध्यम घाइते भएका छन् । घाइते दुबैको हेटौँडा अस्पतालमा उपचार भई रहेको छ । ट्रक चालक बाँके जिल्लाको कोहलपुर नगरपालिका–१४ का ३३ वर्षीय बद्री गडरिया जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
