हेटौँडा : रोटरी क्लब अफ हेटौँडाले निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । क्लबले बुधबार, बिहीबार र शनिबारसम्म रौतहट, बारा, पर्सा र महोत्तरी जिल्लाका विभिन्न स्थानमा शिविर सञ्चालन गर्ने हुनेछ भने आइतबार र सोमबार शल्यक्रिया गर्ने क्लबका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।
शिविरमा भेटिने मोतियाबिन्दुका बिरामीहरूको शल्यक्रिया हेटौँडा सामुदायिक आँखा अस्पतालमा हुनेछ । शिविर अवधिभर बिरामीहरूलाई खान, बस्न तथा आवतजावतको सम्पूर्ण सुविधा निःशुल्क प्रदान गरिने क्लबका अध्यक्ष प्रधानले जानकारी दिनुभयो । जाँच पश्चात फेला परेका सबै मोतियाबिन्दुका बिरामीहरूको शल्यक्रिया गरिने उहाँको भनाइ छ ।
शिविर बुधबार रौतहटको कटहरीया बजारमा हुनेछ । त्यस्तै बिहीबार बारा जिल्लाको कलैया–१७, ठूलो ब्रम्हपुरी र पर्सा जिल्लाको जगरनाथपुर–६, औराहमा, शनिबार महोत्तरी र बर्दिवास शिविर आयोजना हुने अध्यक्ष प्रधानले बताउनुभयो । स्थानीय स्तरमा नियमित रूपमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको रोटरी क्लब अफ हेटौंडाको यस पहलले ग्रामीण क्षेत्रका आँखाका बिरामीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको उहाँको भनाई छ । शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालका चिकित्सकहरुले स्वास्थ्य जाँच गर्नेछन् ।
