Home मुख्य समाचार लागूऔषधको खेती भेटिए जनप्रतिनिधि र शिक्षकलाई कारवाही

लागूऔषधको खेती भेटिए जनप्रतिनिधि र शिक्षकलाई कारवाही

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी ।

हेटौँडा : मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अवैध गाँजा तथा अफिम खेतीलाई निरुत्साहित गर्न निर्देशन दिएका छन् । उनले जिल्लाको राक्सिराङ, कैलाश र मनहरी क्षेत्रमा भइरहेको अवैध गाँजा तथा अफीम खेतीलाई स्थानीय स्तरबाट निरुत्साहित गर्नुपर्ने बताएका हुन् ।

राक्सिराङ गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ अधिकारीले खेतीपाती प्रणालीमा परिवर्तन नगरे राज्य कडा रुपमा प्रस्तुत हुने बताए । अवैध लागूऔषध खेतीका कारण समाजले ठुलो मूल्य चुकाउनु परेकाले उनले अब उक्त कार्यमा लागेका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुलाई समेत नछोडिने बताए । लागूऔषधकै कारण राक्सिराङ्ग र आसपासका ३०० भन्दा बढी युवाहरू हाल जेलमा रहेको उनको भनाई छ । उनले युवा पुस्ता कुलतमा फसेकोमा चिन्ता व्यक्त गर्दै सन्ततीको भविष्यका लागि पनि सोच परिवर्तन गर्नुपर्नेमा बताए ।

‘यदि जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको घरमा अफिम वा गाँजा खेती फेला प¥यो भने हामी उत्पादनलाई मात्र होइन, व्यक्तिलाई पनि कारबाही गर्ने हिसाबले अगाडि बढ्छौँ । यो कुरामा सबैले ध्यान दिनुहोला’, उनले भने, ‘खेती किसानीका लागि दिइएको ट्र्याक्टर अफीम र गाँजा ओसार्न होइन । भोलिका दिनमा मुद्दा परेपछि मैले त लगाएको मात्रै हो भनेर रोइलो नगर्नुहोला । यो मेरो चेतावनी हो । कहिलेसम्म नसुध्रिने हामी नेपाली ?’

प्रजिअ अधिकारीले अवैध खेतीको विकल्पमा व्यावसायिक कागती खेती, तरकारी खेती र अग्र्यानिक उत्पादनमा लाग्न स्थानीयलाई आग्रह गरे । गाउँमा दैनिक उपभोगका लागि आवश्यक पर्ने सामान्य टमाटर, धनियाँ र लसुन समेत नहुनु दुःखद भएको र घर–घरमा उत्पादन बढाउन सुझाव दिए । स्थानीय सरकारलाई समेत उक्त विषयमा गम्भीर हुन उनले आग्रह गरे । उनले पर्यटन प्रवद्र्धनका लागि होमस्टेहरु खोल्न र कानुनी बाटो अपनाउन अनुरोध गरे । उनले गाँजा र अफीम खेतीका कारण गाउँपालिका अध्यक्षहरु समेत चाडबाडका बेला आफ्ना जनतालाई जेलमा भेट्न जानुपर्ने बाध्यता रहेकाले अब यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

Exit mobile version