हेटौँडा: जारी पुरुष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ मा मधेश प्रदेशले ह्याट्रिक जित निकालेको छ । सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गरेसँगै मधेशले जारी प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ ।
सोमबार जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको खेलमा मधेशले कर्णालीलाई ५ विकेटले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ रोजेको कर्णाली प्रदेश ३१ ओभर २ बलमा १२९ रनमा अलआउट भएको थियो । कर्णालीका लागि ओपनर रविन्द्र जंग शाहीले सर्वाधिक ४० रन बनाउँदा अर्का व्याटर अर्जुन घर्ती मगरले २४ रन बनाएर आउट भए । मधेश प्रदेशका आशिष बैठाले ४ विकेट, विशाल यादव र अरनिको प्रसाद यादवले समान २ विकेट लिएका थिए ।
१३० रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले २४ ओभर ५ बलमा ५ विकेट गुमाएर लक्ष्य भेटाएको हो । मधेशका ओपनर मयन यादवले २४ रन र निरज कुमार यादवले ३८ रन बनाए । अरनिको प्रसाद यादवले अविजित ३२ रनको योगदान गरे । कर्णालीका दिपेन्द्र रावतले ३ विकेट, कप्तान दिवान पुन र प्रकाश जैसीले समान १ विकेट लिए । मधेश प्रदेशका आशिष प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै, विरगंजको नारायणी रङ्शालामा सोमबार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको छ । लुम्बिनी प्रदेशले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले ४५ ओभर ४ बलमा १६८ रनमा अलआउट भएको थियो । सुदुरपश्चिमका लागि दीपक बोहराले ३० रन, हेमन्त धामीले २९ रन र किरण ठगुन्नाले २० बनाएका थिए । कर्णालीका सन्तोष यादव र अजय चौहानले समान ४ विकेट लिए ।
१६९ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी प्रदेश १५६ रनमै रोकियो । लुम्बिनीले ४० ओभर २ बलमा १५६ रनमा अलआउट भयो । लुम्बिनका लागि उत्कृष्ट बलिङ गरेका सन्तोष यादवले व्याटिङमा राम्रो प्रदर्शन गरे । यादवले सर्वाधिक ६७ रन र दर्शन सुनारले ३६ रन बनाए । लुम्बिनीका अन्य व्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिमका कप्तान शेर मल्ल र खडक बोहराले समान ३ विकेट लिदा हेमन्त धामीले पनि २ विकेट लिए । सुदूरपश्चिमका खडक बोहरा प्लेयर अफ द म्याच घोषित भए ।
जारी प्रतियोगितामा ४ खेलबाट ७ अंक जोडेका मधेश प्रदेश विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई उछिन्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ भने समान खेलबाट ६ अंक जोड्न सफल सुदुरपश्चिम प्रदेश तेस्रो स्थानमा रहेको छ । यस्तै, ४ खेलबाट समान ३÷३ अंक जोडेका लुम्बिनी र कर्णाली अंक तालिकाको क्रमशः पाँचौं र छैठौं स्थानमा रहेको छ । प्रतियोगितामा १० वटा टोली सहभागी छन् ।











