हेटौँडाः पुरुष एकदिवसीय प्रधानमन्त्री कप प्रतियोगितामा बागमती प्रदेश विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ ।
प्रतियोगिताको आइतबार भएको खेलमा बागमती प्रदेश ३ विकेटले पराजित भएकोे छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको बागमती र आर्मीबिचको खेल वर्षाका कारण ढिला सुरु हुँदा २८ ओभरमा सिमित भएको थियो । खेलमा आर्मी क्लबले सुरुमा टस जितेर बलिङ रोजेको थियो ।
टस हारेर व्याटिङको निम्तो पाएका बागमतीले आर्मीलाई २०९ रनको लक्ष्य दिएको थियो । बागमतीले निर्धारित २८ ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो । बागमतीका आशुतोष घिरैयाले ३८ रन, पवनबहादुर थापाले ३५ रन, विवेक राना मगर र सोनु देवकोटाले समान ३०/३० रन बनाए । आर्मीका नरेन साउदले ४ विकेट लिए ।
जवाफी व्याटिङ गरेको आर्मीले १ बल बाँकी छँदा लक्ष्य भेट्टायो । आर्मीले २७ ओभर ५ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । आर्मीका लागि अलराउन्डर कुशल मल्लले अविजीत ९० रन बनाए । ओपर व्याटर त्रितराज दासले पनि ५४ रनको योगदान गरे । बागमतीका ईशान पाण्डे र विवेक राना मगरले समान २/२ विकेट लिए ।
तल्लो मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा गण्डकी प्रदेशले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ४३ रनले पराजित गरेको छ । यी दुई टोलीबिचको खेल यसअघि शनिबार वर्षाका कारण स्थगित भएको थियो । आइतबार पनि वर्षाका कारण खेल ढिला सुरु हुँदा खेल २१ ओभरमा सिमित भएको थियो ।
सुरुमा व्याटिङ गरेको गण्डकीले एपीएफ सामु १५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गण्डकीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५० रन जोडेको थियो । गण्डकीका गौरभ विश्वकर्माले ३७ रन, दीपकप्रसाद डुम्रेले ३४ रन र अर्जुन कुमालले २५ रन बनाए । एपीएफका बलर अभिनाश बोहराले ३ विकेट लिए ।
लक्ष्य पछ्याएको एपीएफ १०७ रनमै अलआउट भयो । एपीएफले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १०७ रनमात्रै बनाउन सक्यो । एपीएफका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाउँदा दुबै ओपनर व्याटर लोकेश बम र आशिफ शेख समान १४ रन बनाएर आउट भएका थिए । गण्डकीका अप्रजीत पौडेल र किब्रिन श्रेष्ठले समान ३/३ विकेट लिए ।
१० वटा टोली सहभागी प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब अंक तालिकाको शीर्ष स्थानमा र नेपाल पुलिस क्लब दोस्रो स्थानमा रहेको छ । आर्मी क्लबले ४ खेलबाट ७ अंक र समान खेलबाट पुलिसले ५ अंक जोडेको छ । प्रतियोगितामा ४ खेलबाट ३ अंक जोडेका एपीएफ क्लब सातौँ र गण्डकी प्रदेश आठौँ स्थानमा रहेको छ । ४ खेलमा एक खेलमात्र जित्न सकेको बागमती अंक तालिकाको नवौँ स्थानमा छ ।
