Home मुख्य समाचार एसईई नतिजाको चिन्ता

एसईई नतिजाको चिन्ता

कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाको चासो र चिन्ताले धेरैलाई तनाब दिने गरेको छ । विगतमा कक्षा १० सम्म विद्यालय शिक्षा हुँदा एसएलसीको रुपमा लिइने यो परीक्षालाई विशेष मानिन्थ्यो । हाल विद्यालय तहको शिक्षा कक्षा १२ सम्म कायम रहेको अवस्थामा एसईई भनेको कक्षा १० बाट ११ मा जाने वा नजाने आधारमात्र हुनुपर्नेमा यसलाई आवश्यकताभन्दा बढी महत्व दिएको पाइन्छ । विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावकको चासो र चिन्ता एसईईको नतिजामा देखिनु स्वभाविक हो । यो परीक्षा र यसको नतिजाको विषयमा स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारको चासो पनि उत्तिकै हुने गरेको छ । कुनै पनि तह वा कक्षाको नतिजालाई लिएर चासो र चिन्ता व्यक्त गर्नु सकारात्मक भए पनि एसईईको नतिजालाई लिएर मात्र चासो व्यक्त गर्नु उपयुक्त देखिँदैन ।

यस वर्षको एसईई परीक्षा संघारमै आइसकेको छ । अबको तीन दिनपछि (चैत १९ गतेबाट) एसईई सुरु हुँदैछ । यस वर्षको एसईईमा ५ लाख ९ हजार ९ सय ६१ परीक्षार्थीले परीक्षा दिँदैछन् । नियमिततर्फ ४ लाख ४६ हजार ५ सय ७६ विद्यार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ ६३ हजार ४ सय ८५ विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत् एसईई सञ्चालन हुनेछ । मकवानपुर जिल्लाबाट पनि यस वर्ष ७ हजार १९२ जनाले एसईई दिँदैछन् । नियमिततर्फ ५ हजार ५२७ र ग्रेडवृद्धितर्फ एक हजार ६६५ परीक्षार्थीले एसईईको आवेदन फारम भरेका हुन् । मकवानपुर जिल्लामा २८ वटा परीक्षा केन्द्र तोकिएको छ ।

लेटर ग्रेडिङ पद्दतिबाट एसईई नतिजा सार्वजनि गर्ने गरेको भए पनि केही वर्षदेखि प्रत्येक विषयमा ३५ प्रतिशतभन्दा कम अंक प्राप्त गरेमा ननग्रेडेड (एनजी) हुने र उक्त विषयमा पुनः परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । यसले परीक्षा दिएका सबै विषयमा ३५ प्रतिशत प्राप्ताङ्क नआएमा विद्यार्थी फेल हुने गर्दछन् । लेटरग्रेडिङ पद्दति सुरु भएपछि केही वर्ष पास÷फेल उल्लेख नगरी न्यूनतम एक दशमलब ६ जीपीए हासिल गरेको विद्यार्थीले कक्षा ११ मा कुनै न कुनै विषय लिएर अध्ययन गर्न पाउने व्यवस्था हुँदा यसको नतिजाप्रति चासो कम भएको भए पनि अहिले एनजी आएका विद्यार्थी फेल हुने भएपछि एसईई नतिजा उत्कृष्ट बनाउनुपर्ने बाध्यता बनेको छ ।

मकवानपुर जिल्लामा गत वर्ष एसईई नतिजामा एक जना पनि विद्यार्थी उत्तीर्ण नभएका विद्यालयहरुलाई नतिजा सुधार गर्न बढी दबाब परेको छ । जिल्लाको थाहा नगरपालिका, बकैया, मनहरी र राक्सिराङ गाउँपालिकाका ७ वटा विद्यालयहरुको नतिजा गत वर्ष शून्य रहेकोमा यस वर्ष नतिजा सुधार गर्न ती विद्यालयहरुलाई स्थानीय सरकारको दबाब रहेको छ । विकट क्षेत्रका विषयगत दरबन्दीका शिक्षक नभएका विद्यालयहरुको नतिजा कमजोर बनिरहेको अवस्थामा नतिजा सुधार गर्न चुनौतीपूर्ण देखिएको । विद्यार्थीको नियमितता कम भएका कारण पनि विद्यालयहरुले नतिजा सुधार गर्न निकै संघर्ष गर्नुपर्ने अवस्था छ ।

एसईई नतिजा सार्वजनिक भएपछि कुन विद्यालयबाट कति जना विद्यार्थी कुन ग्रेडमा उत्तीर्ण भए भन्ने सार्वजनिक चर्चा र चासोले केही दिन राम्रै स्थान पाउँछ । आफ्नो विद्यालयको नतिजा उत्कृष्ट देखाउन अधिकांश विद्यालयहरुले सबै प्रकारका प्रयत्न गर्दछन् । कमजोर नतिजा ल्याउने विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले विभिन्न प्रकारका भनाइ तथा आरोप सहनुपर्ने हुन्छ । यसले गर्दा वर्षेनि कक्षा १० मा पढ्ने र पढाउने विद्यार्थी, शिक्षक र अभिभावकमा एक प्रकारका तनाब सिर्जना भइरहन्छ । कक्षा ९ सम्मका नतिजा सुधार हुँदै आउने हो भने कक्षा १० अर्थात् एसईईको नतिजा स्वतः सुधार हुने भएकाले एसईईमात्र नभई सबै कक्षाको नतिजा सुधार गर्न सबै पक्ष चिन्तित बन्नुपर्छ ।

Exit mobile version