मुलुक नयाँ युगमा प्रवेश गर्दैछ । पुराना दलहरू खुम्चिएर क्षेत्रीय पार्टीको आकारमा आएका छन् भने तीन वर्षअघि खुलेको रास्वपाले दुईतिहाइ नजिकको बहुमत प्राप्त गरेको छ । बालेन शाह यो देशको शक्तिशाली प्रधानमन्त्रीका रूपमा कार्य प्रारम्भ गर्दैछन् । प्रधानमन्त्री बालेन शाहले आफ्नो शपथग्रहण परम्पराभन्दा पृथक ढंगले आयोजना गरे । बदलिँदो राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीलाई जनताले फरक रूपमा हेर्न खोजेका छन् । त्यसैले उनले कार्य प्रारम्भको शपथ नै सनातन सभ्यताको जगमा उभिएर मन्त्रोच्चारण र शंखध्वनिले गुञ्जायमान बनाए । १०८ बटुकहरूको स्वस्ति शान्ति वाचन, १०८ लामा गुरुहरूको मंगल पाठ र ७ वटा शंखनाद गरेर उनले यस मुलुकको पहिचान र सनातन धर्मप्रति आफ्नो प्रतिबद्धता देखाए ।
यो भव्य धार्मिक अनुष्ठानले प्रधानमन्त्रीलाई सकारात्मक ऊर्जा, नयाँ नेतृत्व न्याय र धर्मको बाटोमा अविचलित भएर अघि बढ्ने सन्देश पनि दिएको छ । ‘बालेन धेरै बोल्दैनन्, काम गर्छन्’ भन्ने भनाइ प्रचलित छ । आज सारा जनताले बालेनप्रति भरोसा र विश्वास व्यक्त गरिरहेका छन् । उनले आशा जगाउनेछन् भन्ने अपेक्षा छ । पुराना भनिएका दलहरूले मुलुक र जनतालाई निराश बनाएका छन् । भ्रष्ट्राचार र कुशासनको पिरामिड खडा भएको छ । देशका नवयुवाहरू विदेश पलायन हुन बाध्य भएका छन् । यही पृष्ठभूमिमा नवयुवाहरूले आफ्नो ज्यानको बाजी लगाएर भाद्र २३/२४ मा ठूलो उथलपुथल ल्याए, जसको परिणामस्वरूप निर्वाचन भयो र नयाँ सरकार बनेको छ ।
अब यो सरकारलाई काम गर्न कुनै अवरोध छैन । काम गर्न आँट, साहस र क्षमता चाहिन्छ । जनताले यो सरकार मेरो हो भन्ने महसुस गरेको दिन सरकार सफल हुनेछ । बालेन सरकारका चुनौतिहरू पनि थुप्रै छन् । कार्की आयोगको प्रतिवेदनलाई नयाँ सरकारले कसरी कार्यान्वयन गर्छ भन्ने महत्वपूर्ण विषय हो । दोषी देखिएकाहरूले उन्मुक्ति पाउनु हुँदैन । ७७ जनाले सहादत प्राप्त गरेका छन्, उनीहरू र तिनका परिवारले न्याय पाउनु अत्यन्त आवश्यक छ ।
कार्की आयोगको विषयमा भर्खर सरकारले आन्दोलनबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । कार्यान्वयन गर्दा सुरक्षा संयन्त्रको हकमा सिफारिस समिति गठन गरी सो को सिफारिस बमोजिम गर्ने र अन्यको हकमा प्रतिवेदन बमोजिम गर्न तत्काल तत्–तत् संयन्त्रलाई निर्देशन दिने निर्णय गरेको थियो र सो कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा वर्तमान सरकार गठन भएको २४ घण्टा नबित्दै देखिएको सक्रियता स्वयम्मा महत्वपूर्ण सन्देश बनेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु भनेको विगतमा जरा गाडेर बसेको दण्डहीनताको संस्कार अन्त्यतर्फको संकेत पनि हो । यसले सरकार कसैलाई पनि उन्मुक्ति नदिने, चाहे ऊ उच्च राजनीतिक पदमा पुगेको किन नहोस् भन्ने स्पष्ट सन्देश दिएको छ । यदि सरकार पूर्वप्रधानमन्त्री र गृहमन्त्रीसम्म पुग्न सक्छ भने प्रशासनिक तहका कर्मचारी वा अन्य प्रभावशाली व्यक्तिहरूलाई पनि कारबाहीको दायराभित्र ल्याउन सक्ने अपेक्षा स्वाभाविक रूपमा बढेको छ ।
त्यस्तै विगतका भ्रष्ट्राचारका फाइलहरू खोलिनुपर्छ र २०४६ पछिका सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन हुनुपर्छ । सुशासनको प्रत्याभूति दिन आवश्यक ऐन, कानुनहरू संशोधन गर्न जरुरी छ । बालेनका विषयमा थुप्रै मिथक बनाइएका छन्, तर जनताले उनलाई तारणहारका रूपमा हेर्ने गरेका छन् । इतिहासमै पहिलो पटक मधेशी मूलको व्यक्ति देशको सर्वोच्च पदमा पुगेको भनिएको छ । बालेन शाहको नाममा हिमालदेखि पहाड, तराई मधेशसम्म व्यापक समर्थन देखिएको छ । यसले सबै भूभागलाई जोड्ने काम गरेको छ ।
पूर्वदेखि सुदूरपश्चिमसम्मका विविधता धर्म, जात, संस्कृति र कलालाई एउटै मालामा उन्ने काम बालेन सरकारबाट सम्भव छ भन्ने अपेक्षा गरिएको छ, किनकि यो इतिहासमै बलियो, अधिकतम जनसमर्थन प्राप्त र दुईतिहाइ नजिकको सरकार हो । भू–राजनीतिक जटिलता अर्को महत्वपूर्ण आयाम हो । वैदेशिक प्रभाव र हस्तक्षेपको चपेटामा परेको मुलुकको स्वाधीनताको रक्षा पहिलो जिम्मेवारी हो । काठमाडौं महानगरको प्रमुख हुँदा बालेन शाहले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यालयमा राखेका थिए, जुन कूटनीतिक रूपमा अस्वाभाविक मानिन्छ । त्यसैले नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई भावनात्मक दृष्टिकोणबाट होइन, यथार्थवादी दृष्टिकोणबाट हेर्नुपर्छ । कुनै पनि शक्ति राष्ट्रले नेपालको हितलाई केन्द्रमा राखेर नीति बनाउँदैन; उनीहरूले आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिन्छन् । त्यसैले नेपालले पनि आफ्ना निर्णयहरू राष्ट्रिय हितका आधारमा लिनुपर्छ ।
छिमेकीहरूसँग वार्ता र कूटनीतिक ढंगबाट समस्याको समाधान खोज्नुपर्छ । तसर्थ पहिलो कामका रूपमा सरकारले यो अमेरिकी प्रभावको सरकार हो भन्ने भ्रम चिर्न आवश्यक छ । एसपीपी सम्झौताबारे सरकारको स्पष्ट दृष्टिकोण आउनु जरुरी छ । बालेन शाहले काम गरेर देखाउने छन् भन्ने विश्वास गरिएको छ । भाषणभन्दा काम महत्वपूर्ण हुन्छ भन्ने उदाहरणका रूपमा केल्भिन कोलिजलाई लिन सकिन्छ । अमेरिकामा सन् १९२४ देखि १९२९ सम्म राष्ट्रपति रहँदा उनले पत्रकारसँग अत्यन्त कम बोले । सार्वजनिक मञ्चमा पनि थोरै शब्द मात्र प्रयोग गर्ने उनी काममा विश्वास गर्थे । फलस्वरूप, उनको कार्यकालमा अमेरिकी अर्थतन्त्रले ठूलो फड्को मारेको थियो ।
नेपालमा पनि त्यस्तै नबोली काम गर्ने व्यक्तिका रूपमा बालेन शाहलाई हेरिएको छ । त्यसैले जनताको अपेक्षा दिनप्रतिदिन बढ्दै गएको छ । शिक्षा स्वास्थ्यको सुनिश्चितता, रोजगारी सिर्जना, सेवा प्रवाहमा सरलता, डिजिटल्याइजेशन, जून वाचापत्रमा उल्लेख छ ति कार्यान्वयन जाओस् । विकृतिको पहाड नै छ । त्यसलाई न्यूनीकरण गर्र्दै अघि बढ्नु जरूरी छ । त्यसैले काम चुनौतिपूर्ण नै छ । नेपाली जनताले मत बदलेका हुन्, पार्टी होईन । तसर्थ जनताको मन जित्ने गरी काम गर्नुपर्छ । प्रधानमन्त्री भएपछि सरकारले उदाहरणका रूपमा केही सम्भावित सुधारका काम अघि बढाएको देखिन्छ । जसमा संघीय निजामती सेवा ऐन ५ दिनभित्र संसदमा पेश गर्ने, अनलाइन सरुवा प्रणाली ३० दिनभित्र लागू गर्ने, राष्ट्रिय परिचयपत्रसँग पासपोर्ट आबद्धता १५ दिनभित्र गर्ने तथा ‘हेलो सरकार’ मा प्राप्त गुनासाहरू ७ दिनभित्र समाधान गर्ने जस्ता योजना रहेका छन् । पहिलो मन्त्रिपरिषद् बैठकबाटै व्यापक सुधारका कार्यक्रम घोषणा गर्ने तयारी रहेको छ । जस अनुसार उनले कम्तिमा ५० वटा ठोस सुधारका योजना सार्वजनिक गर्ने लक्ष्य लिएका छन् । त्यस्तै अर्थमन्त्रीले पनि पदभार ग्रहण गरे लगतै राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन् । निजी क्षेत्रको सुझावलाई दृष्टिगत गरेर अर्थतन्त्रमा व्यापक सुधार गर्ने लक्षणं देखिन्छ । तसर्थ सरकारसँग जनताको भरोसा छ । भर्खर सरकार बन्यो, सरकारको लक्षण सही दिशातर्फ जाँदैछ । राम्रो कामको जनताले पनि साथ र समर्थन दिनू पर्छ, सरकारले पनि जनताको बलमा परिवर्तनलाई सार्थक बनाउनुपर्छ । अस्तू ।।
