हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको छत्रेडाँडास्थित पाथिभरा मन्दिर क्षेत्रमा शनिबारीय स्थलगत कला कार्यशाला सम्पन्न भएको छ । हरेक शनिबार झैं यस शनिबार पनि कार्यशाला आयोजना गरिएको शनिबारीय स्थलगत कला कार्यशाला अभियान मकवानपुर शाखाका प्रमुख सुजन राईले जानकारी दिनुभयो ।
राईको नेतृत्वमा गएको टोलीले मन्दिर लगायत वरपरका दृश्यहरुलाई समेट्ने गरी खुला वातावरणमा चित्रकला अभ्यास गरेका थिए । रोट्र्याक्ट क्लब अफ मकवानपुरको सहकार्यमा हाइकिङ कार्यक्रम समेत आयोजना गरिएको शाखा प्रमुख राईले बताउनुभयो । राईका अनुसार हाइकिङमा १७ जनाको सहभागिता रहेको थियो । उक्त क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले कार्यशला आयोजना गरिएको राईको भनाइ छ । कला र प्रकृतिबीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै सहभागीहरूबीच सहकार्य, अनुभव आदानप्रदान र सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्नु शनिबारीय स्थलगत कला कार्यशाला अभियानको लक्ष्य रहेको छ । हेटौँडा विगत ४ वर्षदेखि यो कार्यशाला निरन्तर सञ्चालन गरिँदै आएको छ ।
