हेटौँडा : साहित्य संगम मकवानपुरको ३६५ औँ नियमित साहित्य सन्ध्या शनिबार सम्पन्न भएको छ । संगमका अध्यक्ष डिबि बर्तौलाको सभाध्यक्षमा हेटौँडा–४ स्थित साहित्य संगम–सिस्नुपानी मकवानपुरको सभाहलमा नियमित साहित्य सन्ध्या भएको हो ।
नियमित साहित्य सन्ध्यामा राजुराम राउत, जनार्दन खनाल, सानु खनाल, हेमन्त ढुंगेल र देवराज तिवारी लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा संगमका आजीवन सदस्यताका लिएका सदस्यहरूलाई सदस्यताका प्रमाणपत्र वितरण गरिएको थियो । यस वर्ष ८२ जनाले आजीवन सदस्यताका प्राप्त गरेका छन् । गत बैशाखमा भएको विशेष अधिवेशनले संघको विधान संशोधन गरी आजीवन सदस्यताको व्यवस्था गरिएको अध्यक्ष बर्तौलाले बताउनुभयो । उहाँका अनुसार १ सय ५२ जना साधारण सदस्य र ८२ जना आजीवन सदस्य गरी संगमको सदस्य संख्या २ सय ३४ पुगेको छ । आजीवन सदस्यताका लागि ३ हजार शुल्क निर्धारण गरिएको छ ।
संगमको अक्षयकोषमा १० लाखभन्दा बढी रकम जम्मा भइसकेको अध्यक्ष बर्तौलाले जानकारी दिनुभयो । वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तुलसी घिमिरे, देवप्रसाद श्रेष्ठ, देवराज खरेल र पूर्णकला घिमिरेको विशेष आतिथ्य रहेको थियो ।
