हेटौँडा : नयाँ वर्ष २०८३ को अवसरमा नेपालको पर्यटकीय राजधानी पोखरामा २१ औँ फेवा नववर्ष महोत्सव हुने भएको छ । चैत २९ गतेदेखि वैशाख १ गतेसम्म महोत्सव हुन लागेको होटल संघ पोखराले जानकारी दिएको छ ।
‘जाउँ है पोखरा’ आन्तरिक पर्यटक प्रवद्र्धन अभियान अन्तर्गत हेटौँडामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा संघले महोत्सवको बारेमा जानकारी गराएको हो । संघले आन्तरिक पर्यटन प्रबद्धर्न गर्ने मुख्य उद्देश्यले ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरेको हो । सोमबारदेखि शुक्रबारसम्म सञ्चालन गरिएको अभियानमा वीरगञ्ज, विराटनगर, इलाम र हेटौँडामा संघले छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
हेटौँडामा आयोजित कार्यक्रममा होटेल एसोसिएसन मकवानपुरका संस्थापक अध्यक्ष भागिरथ शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सभाध्यक्षता गर्नु भएका होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दिगो पर्यटनको मूल आधार नै आन्तरिक पर्यटक भन्ने मान्यताका साथ विगत २५ वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको बताउनुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि संघले फेवा नववर्ष महोत्सका साथै भाइटीका महोत्सव, खाना महोत्सवजस्ता कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । सुवेदीका अनुसार एक दिनमा पोखराका होटलले ४० हजार जनालाई सेवा दिन सक्छछन् भने १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
२१ औँ फेवा नववर्ष महोत्सवमा आगन्तुक पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछाने, होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठलगायतको विशिष्ट आतिथ्य रहेको थियो ।
