Home मुख्य समाचार श्रमिक माविको अध्यक्षमा पुनः कार्की

श्रमिक माविको अध्यक्षमा पुनः कार्की

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक कार्की ।

हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः विवेक कार्की निर्वाचित हुनुभएको छ । शनिबार भएको ५८औं अभिभावक भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । अभिभावक भेलाले अभिभावक मध्येबाट धनकुमारी खत्री, विष्णुमाया पाख्रिन, सानुलाल श्रेष्ठ र शंकरप्रसाद खतिवडा चयन हुनुभएको थियो ।

धनकुमारी ९ कक्षामा अध्ययनरत दिया बस्नेतको अभिभावक हुनुहुन्छ भने विष्णुमाया कक्षा–१ मा अध्ययनरत सोनिक र ४ कक्षामा अध्ययनरत सोनमका अभिभावक हुनुहुन्छ । यस्तै कक्षा–४ मा अध्ययनरत तृषा श्रेष्ठकी हजुरबुबा सानुलाल श्रेष्ठ र ९ कक्षामा अध्ययनरत रिदम खतिवडाका बुबा शंकरप्रसाद खतिवडा विद्यालय व्यवस्थापन समिति सदस्य चयन हुनुभएको हो । अभिभावक प्रतिनिधि चयनपछि शनिबार नै बसेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट विवेक कार्की र इन्द्रदेवी उप्रेती विद्यालय व्यवस्थापन समितिमा मनोनित हुनुभएको हो । विद्यालयको सहयोगीको रुपमा मनोनित हुनुभएका कार्की दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ।

विद्यालय व्यवस्थापन समितिमा वडा प्रतिनिधि जनरल श्रेष्ठ र शिक्षक प्रतिनिधि सुशील पोखरेल चयन हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिका प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको अध्यक्षता तथा वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो । अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष सिग्देलले श्रमिक माविको शैक्षिक, भौतिक दुबै पक्षमा उल्लेख्य सुधार भएको बताउनुभयो । श्रमिक माविले निकट भविष्यमै प्राविधिक विषय अध्यापन गराउने पनि उहाँको भनाइ थियो । विद्यालयले स्थापना गरेको अक्षयकोषमा १० लाख रुपैयाँ पुगेको जानकारी प्राप्त भएको उल्लेख गर्नुहुँदै उहाँले अक्षयकोषलाई २० लाख रुपैयाँ पुर्‍याउन वडाले थप ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

अभिभावक भेलामा अध्यक्ष कार्कीले आफ्नो पहिलो तीन वर्षे कार्यकालमा भएका कामका बारेमा जानकारी गराउनुभएको थियो । शैक्षिक तथा भौतिक विकासमा उल्लेखनीय काम भएको जानकारी दिनुहुँदै अध्यक्ष कार्कीले आगामी ३ वर्षमा विद्यार्थी संख्या एक हजार पाँच सय पुर्‍याउने बताउनुभयो । विद्यालयमा ४ करोड रुपैयाँ लागतको २० कोठे भवन निर्माणको अन्तिम चरणमा रहेको पनि उहाँले जानकारी दिनुभयो । पूर्वप्राथमिक तहका कक्षामा जडान गरिएको सीसी क्यामरा अभिभावकले आफ्नो मोबाइलमै हेर्न सक्ने व्यवस्था गरिएको, पुस्तकालय र प्रयोगशाला व्यवस्थापनमा थप काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा विद्यालयको सल्लाहकार समितिका संयोजक रामकृष्ण थापा, श्रमिक माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठ, श्रमिक क्रियाशील विद्यार्थी समूहकी अध्यक्ष सपना लामाको पनि आतिथ्य रहेको थियो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ७ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस वर्ष एसईईमा श्रमिक माविबाट २४ जना विद्यार्थी सहभागी हुँदैछन् ।

Exit mobile version