हेटौँडा: भारतीय टायर कम्पनी एमआरएफको शोरुम ‘भैरव टायर्स’ हेटौँडामा सन्चालनमा आएको छ । बुधबार हेटौँडा–५, भैरवरोडमा शोरुमको उद्घाटन गरिएको हो । एमआरएफको आधिकारिक बिक्रेताको रूपमा भैरव टायर्स हेटौँडाका लागि दोस्रो बिक्रेता हो ।
दुई पाङ्ग्रे, चार पाङ्ग्रे, डोजरका टायरको अधिकृत बिक्रेताको रूपमा भैरव टायर्स सन्चालनमा एक करोड रुपैयाँ बराबरको लगानी रहेको प्रोप्राइटर राजु पौडेलले जानकारी दिनुभयो । एमआरएफ कम्पनीको नेपाल र भुटानका लागि बिक्री प्रबन्धक गौतम सिंह दर्नालले शोरुमको उद्घाटन गर्नुभयो ।
शोरुम उद्घाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको पनि आतिथ्य रहेको थियो । सवारी साधनधनीहरुको सहरको रुपमा परिचित हेटौँडामा व्यावसायिक सम्भावना राम्रो भएकै कारण लगानी गरेको पौडेलले बताउनुभयो । भारतीय लोकप्रिय ब्राण्डको व्यावसायिक लाभको अवसर पनि राम्रो रहेको पौडेलको भनाइ छ ।











