हेटौँडाः प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश ७ विकेटले पराजित भएको छ । बिहीबार भएको खेलमा बागमती प्रदेशको टोली नेपाल पुलिस क्लबसँग पराजित भएको हो ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले टस जितेर व्याटिङ रोजेको थियो । बागमती प्रदेशले ४९ ओभर २ बल खेलेर २६५ रनमा अल आउट हुँदै विभागीय टोली नेपाल पुलिस क्लबलाई २६६ रनको लक्ष्य दिएको थियो । बागमतीका लागि पवनबहादुर थापाले ७९ रन र उपकप्तान ईशान पाण्डेले ७० बनाए । आशुतोष घिरैयाले २२ रन र उत्तम थापा मगरले टोलीका लागि २१ रनको योगदान गरे भने बागमतीका अन्य व्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । पुलिस क्लबका राशिद खान र दिनेश खरेलले समान ३ विकेट र करण केसीले २ विकेट लिएका थिए ।
जवाफी व्याटिङ गरेको विभागीय टोली पुलिस क्लबले ४४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो । पुलिसका लागि ओपनर व्याटर दिनेश खरेल र शंकर रानाले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए । रानाले ११६ रन र खरेलले ७० रन बनाए । यस्तै, पुलिसका कप्तान आरिफ शेखले अविजीत ४३ रन जोडे । बागमतीका कप्तान सन्दिप लामिछाने, रिजन ढकाल र सुवास खत्रीले समान १/१ विकेट लिए ।
बिहीबार नै तल्लो मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । सुरुवाती ब्याटिङ गरेको गण्डकी प्रदेश ४९ ओभर ४ बलमा २०९ रनमा अल आउट भएको थियो । गण्डकीका ओपनर व्याटर अर्जुन कुमालले सर्वाधिक ६७ रन र दीपकप्रसाद धुम्रेले ५१ रन बनाएका थिए । गण्डकीका अन्य व्याटरहरुले भने राम्रो प्र्रदर्शन गर्न सकेनन् । आर्मी क्लबका आकाश चन्द र साहब आलमले समान ३ विकेट र कुशल मल्लले २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको आर्मी क्लबले ३४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो । आर्मीका दुबै ओपनर व्याटर विनोद भण्डारी (कप्तान) ले ५८ रन र क्रिटराज दासले ५१ रन बनाए । यस्तै, भीम सार्की ५४ रनमा र कुशल मल्ल ४३ रनमा अविजीत रहे । गण्डकीका सुवास भण्डारीले २ विकेट र कप्तान विपिन खत्रीले १ विकेट लिए ।
बिहीबारको खेल सकिएसँगै पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा अहिलेसम्म ३ खेल खेलेको पुलिस क्लब ४ अंकसहित तालिकाको पहिलो स्थानमा छ भने दुई खेल खेलेको आर्मी क्लब समान अंकसहित दोस्रो स्थानमा रहेको छ । ३ खेलमध्ये एक खेलमा मात्रै जित निकाल्न सकेको बागमती छैटौँ स्थानमा र लगातार दुईवटै खेलमा पराजित भएको गण्डकी अंक तालिकाको अन्तिममा रहेको छ ।
