जेनजी आन्दोलनका कारण विघटन भएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर नयाँ जनादेश प्राप्त भएको छ । यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुई तिहाइ सिट जितेको छ । रास्वपाको या सानदार विजयको पछाडि काठमाडौं महानगरपालिकाको प्रमुख भएर चर्चामा आएका बालेन साहको भूमिका महत्वपूर्ण रहेको छ । महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर रास्वपामार्फत् निर्वाचनमा होमिएका बालेनकै कारण निर्वाचनमा रास्वपाले अकल्पनीय सफलता पाएको हो । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचनमा गएकै कारण आम नेपालीले रास्वपालाई बहुमतमात्र होइन, झण्डै दुई तिहाइ नै पु¥याइदिएका हुन् ।
निर्वाचनमा मतदान सम्पन्न भएर प्रारम्भिक मतगणना सुरु भएसँगै रास्वपाले बहुमत ल्याउने सम्भावना देखिएको थियो । मतगणना भइरहँदा बालेनले जित्ने सम्भावना देखिएसँगै उनलाई प्रधानमन्त्रीको रुपमा देख्ने आम नेपालीको आकांक्षाका कारण नयाँ सरकारको व्यग्र प्रतीक्षा भइरहेको थियो । बिहीबार सांसदहरुको सपथग्रहणपछि रास्वपाले बालेनलाई संसदीय दलको नेता बनाउने निर्णय गरेसँगै बालेन प्रधानमन्त्री बन्ने निश्चित भएको छ । बालेनले आज शुक्रबार प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ । प्रधानमन्त्री बनेसँगै मन्त्रिपरिषद् गठन गरेर काममा लागिहाल्ने तयारी भइरहेको व्यापक चर्चा समेत चलिरहेको छ । बालेनले सपथग्रहणको क्रममा शंखध्वनिसहित वटुकहरुबाट स्वस्तिवाचन र भिक्षुहरुबाट अष्ठमंगल पाठ गर्ने हल्लाले एक प्रकारको तरङ्ग ल्याएको छ ।
बालेन प्रधानमन्त्री बन्ने र सरकारको नेतृत्व गर्ने निश्चित भए पनि उनले बनाउने मन्त्रिमण्डल कस्तो र कत्रो होला अनि उनको नेतृत्वको सरकारले कसरी र कस्तो काम गर्ला भन्ने कौतुहलता भने कायमै छ । विद्यमान मन्त्रालयको संख्या घटाएर सानो आकारको सरकार बनाउने चर्चा व्यापक बनिरहेको अवस्थामा यस्तो कौतुहलता उत्पन्न हुनु स्वभाविक हो । विगतमा झण्डै ५ दर्जनको मन्त्रिमण्डल बनाउने अवस्था बनेपछि २०७२ को संविधानले संघीय सरकारमा प्रधानमन्त्रीसहित २५ जनाभन्दा बढीको मन्त्रिमण्डल बनाउन नपाउने व्यवस्था गरेको छ । संविधानले २५ जनासम्मको सरकार बनाउन पाउने सुविधा दिएकै कारण प्रधामन्त्रीको कार्यालयसहित मन्त्रालयको संख्या २२ वटा बनाइएको छ । २२ वटा मन्त्रालय कायम हुँदा मन्त्रिमण्डल २५ कै हाराहारीमा हुने भएपछि मन्त्रालयको संख्या घटाएर मन्त्रिपरिषदको आकार सानो बनाउनु सान्दर्भिक देखिन्छ ।
आम नेपालीको प्रतीक्षाको घडी समाप्त भएर बालेन साह प्रधानमन्त्री बन्दै गर्दा उनको मन्त्रिमण्डलको आकार पनि सानो हुने अपेक्षा आम नेपालीको छ । सरकारको आन्तरिक आम्दानीले साधारण खर्चसमेत धान्न मुस्किल भइरहेको मुलुकमा सानो आकारको संसद र मन्त्रिमण्डल नै उपयुक्त हुन्छ । संविधान संशोधन नगरी संसदको आकार सानो बनाउन नसकिए पनि मन्त्रिमण्डल सानो बनाएर खर्च कटौती गर्न सकिन्छ । अहिले रास्वपाको एकल सरकार बन्ने भएकाले भागबण्डाको आवश्यकता नहुँदा मन्त्रालयको संख्या कटौती गरी सानो आकारको मन्त्रिमण्डल बनाउनु उचित हुनेछ । बालेन सरकारले आम नेपालीको आशा र अपेक्षालाई आत्मसात गरेर सानो र छरितो मन्त्रिमण्डल बनाउने विश्वास गर्न सकिन्छ । नयाँ सरकारको प्रतीक्षा गरिरहेका नेपालीमाझ सकेसम्म सानो आकारको सरकार बनाएर नयाँ आशाको सञ्चार गर्ने र नेपालीको मन जित्ने अवसर रास्वपा र बालेनलाई छ ।
